दसैँ मान्न घर गएका मान्छेहरू दसैँ मानेर उपत्यका फर्किने क्रम बढिरहेको छ । केही दिन अघि सुनसान रहेको काठमाडौँ पुन पनि चलमलाउन थालिसकेको छ ।
उपत्यका भित्रिने नाकाहरूमा सार्वजनिक यातायात र निजी प्लेटका गाडीमा सवार भएर मान्छेहरू उपत्यका भित्रिरहेको छन् ।
सार्वजनिक यातायातमा सर्वसाधारणहरू उभिएर, कोचिएर उपत्यका छिरेका छन् । साँगा, थानकोटबाट उपत्यका छिर्ने नाकामा स्वास्थ्यकर्मीहरुले कुनै पनि परीक्षण गरेको छैनन् । भाडाको गाडीमा दाउरा मिलाएजस्तो गरी ल्याएको यात्रुहरूको स्थिति कहाली लाग्दो छ ।
त्यही पनि ट्राफिक महाशाखाले अनुगमनमा ध्यान दिएको छैन । गुन्द्रुक खादेको जसरी यात्रु हाल्ने सार्वजनिक यातायातलाई कारबाही पनि गरिएको छैन । दसैँ मान्न गएकाहरू टीकाको भोलिपल्ट देखि भटाभट उपत्यका फर्किरहेका छन् । उनीहरू यसरी फर्किदा उपत्यका कोरोनाको केन्द्र बन्न सक्छ भन्नेतर्फ सरकारको ध्यान गएको छैन ।
दसैँको बेला जसरी हुन्छ यातायात व्यवसायीलाई कमाउन मात्र छ । सिटभन्दा बढी यात्रु हालेर हुन्छ कि यात्रुलाई भेडा बाख्रा झैँ कोच्चाएर हुन्छ । साँगा नाकाबाट भित्रिँदै गरेको सिन्धुपाल्चोकको चौताराबाट आएको बसमा त यात्रुलाई सास फेर्नसमेत हम्मे हम्मे परिरहेको देखियो ।
अन्य जिल्लाबाट उपत्यका छिर्ने बसहरूमा पनि यात्रुहरूको उही हालत थियो । साना गाडीहरूले पनि कोचाकोच यात्रु हालेको छन् । गाडीमा झुन्डिएर आएको यात्रुहरूको व्यथा पनि उही नै छ । एकातिर काममा जाने हतारो अर्कोतिर गाडी नपाउने डर ।
गाडी नपाउने भएकाले झुन्डिएर आउन बाध्य भएको एक जना यात्रु बताए । तर भाँडा भने सिटमा बसेको जति नै तिर्नुपरेको गुनासो उनको छ । अहिले उपत्यका छिर्नेहरू सहचालकले मागे जति भाँडा तिर्न बाध्य छन् । सहचालकहरू पनि सरकारले तोकेभन्दा दोब्बर भाँडा असुलिरहेको छन् । न नाकामा चेकजाँच हुन सकेको छ । न त कसैले स्वास्थ्य मापदण्डको पालना गरेको छन् ।