मानसिंहले आफ्नो गोठका सबै खसीहरूलाई पालै पालो नियाले, जोखे, दाँजे, अन्दाज लगाए र अन्त्यमा घोर्ले खसीलाई यसपालिको दसैँ खसी भनेर चुने ।
घोर्ले दसैँ खसीमा छनौट भएपछि उसका अरू साथीहरूले उसलाई जिस्काउँदै भन्न थाले “घोर्ले दसैँ खसी”, “घोर्ले दसैँ खसी” ।
आफूलाई जिस्काएको देखेर घोर्लेले पनि सुरिँदै भन्यो – “के गर्छौ तिमीहरू दसैँ खसी हुन सकेनौ त । तिमीहरू जस्तो मरण च्याँसेलाई कसले दसैँ खसी बनाउला !
घोर्लेलाई अरू खसीहरूबाट छुट्टाइ – छुट्टाइ मिठो मसिनो खान दिन थालियो । घोर्ले पनि घाँस, दाना चपाउँदै टाउको हल्लाउँदै भन्थ्यो – “देख्यौ मलाई खुब दसैँ खसी भनेर जिस्काउँथ्यौ नि” ।
घोर्लेले मीठो मीठो खान पाएको देखेर अरू खसीहरूलाई ईष्या लाग्थ्यो उनीहरू मन मनै भन्थे – “म पनि दसैँ खसी भएको भए”
दशैको सप्तमीको दिन बिहानै मानसिंहले घोर्लेलाई खोरबाट निकालेर घिसार्दै आँगनमा लगे । उसले ठान्यो सधैँ झैँ दानापानी खानदिन होला तर उसलाई खुकुरीले एकै चोटि चट्ट पारियो ।
घोर्ले धेरै बेरसम्म पिडामा छटपटाइ रह्यो । उसको पीडा र रोदन हेर्न बाध्य उसका साथीहरूले घोर्लेको वियोगमा आँसु बगाउन बाहेक केही गर्न सकेनन् ।
उनीहरू मनमनै पशुपतिनाथलाई पुकार्दै थिए – “भगवान् अरू जे सुकै भए पनि दसैँ खसी कहिल्यै हुन नपरोस् ।”