नेपालीहरूको महान् चाड बडादसैँ मान्नको लागि काठमाडौँ उपत्यका छाड्ने मानिसहरूको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।
घटस्थापना सुरु भएसँगै उपत्यका छाडेर जिल्ला/ गाउँ फर्किनेको सङ्ख्या ह्वात्तै बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
यसपालि दसैँमा उपत्यका बाहिरिनेको सङ्ख्या केही मात्रामा घट्ने देखिएको छ । प्रत्येक वर्ष २० लाख भन्दा बढी व्यक्तिहरूले चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाड्ने गरेका छन् । पछिल्लो समयमा प्राइभेट सवारी साधनमा/ रिजर्भ गरेर आफ्नो गाउँ घर जाने सर्वसाधारणहरूको सङ्ख्या बढ्न थालेकाले यकिन तथ्याङ्क भने पाउन गाह्रो हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा बताउँछ ।
आज दिउँसो गोगँबु बसपार्क पुग्दा दसैँ मान्न घर जाने यात्रुहरूको घुइँचो देखिन्थ्यो भने बिहानको समयमा बिपी राजमार्ग हुँदै पूर्व जाने सवारीसाधनहरूको जाम कोटेश्वरदेखि भक्तपुरको गठ्ठाघरसम्म देखिन्थ्यो ।
नागढुङ्गा, भक्तपुरको जगाती, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिने र बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको महाशाखाले जनाएको छ ।
यस वर्षको दसैँमा विशेष सुरक्षा योजना ल्याइएको छ । यसका लागि सरकारले उपत्यकामा ८ हजार प्रहरी परिचालन गरेको छ । जुवातास, मापसे तथा मनलाग्दी गाडी भाडामा पनि निगरानी गर्ने योजना प्रहरीले ल्याएको छ ।
हेरौं गोंगबु बसपार्कका केही तस्विरहरू