दसैँको रौनक सुरु भएसँगै काठमाडौँमा खसी बोका, च्याङ्ग्रा व्यापार बढ्दो छ। सरकारी स्तरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी र निजी क्षेत्रका व्यापारीहरूलाई समेत खसी बोका बेच्न भ्याई नभ्याई छ ।
काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसी बोका किन्नेको भिड बढ्दो छ । कम्पनीले दसैँलाई लक्षित गरेर शनिवारबाट खसी बोकाको विक्री सुरु गरेको हो ।
कम्पनीमा प्रतिकेजी ६ सय ४० रुपैयाँ मूल्यमा विक्री वितरण गरेको छ । निजी व्यापारीले बेच्नेभन्दा खाद्य कम्पनीले दिने खसी बोका केही सस्तो पर्ने भएकाले भिड लाग्ने गरेको छ ।
कम्पनीले २ हजार खसी बोका विक्रीका लागि ल्याएको छ । माग बढे आवश्यकता अनुसार ल्याउने जनाएको छ । खाद्यले बेच्ने खसी बोकामा विश्वास र बजारमा मूल्यभन्दा सस्तो समेत हुने गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसी किन्न आउने उपभोक्ताहरू समेत दशैका सहजै खसी किन्न पाएकोमा खुसी छन्।
अहिले ६० प्रतिशतसम्म बजार नेपालकै खसी बोकाले धानेको व्यवसायी बताउँछन् । यस वर्ष च्याङ्ग्राको मूल्य अत्यधिक बढेकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा ल्याएको छैन भने अरू व्यापारीहरूले पनि कमै मात्रामा ल्याएका छन् ।
नेपालका विभिन्न पहाडी जिल्ला तथा चितवन मकवानपुर लगायतका जिल्लाबाट व्यवसायीहरूले खुसी–बोका ल्याउने गरेका छन् । त्यस्तै च्याङ्ग्रा भने मनाङ मुस्ताङ लगायतका हिमाली जिल्लाबाट ल्याउने गरिएको छ । यसका साथै खसी बोका भारतको लखनउ, कर्नाटक लगायतका विभिन्न स्थानबाट समेत ल्याइने गरेको छ ।
दसैँमा प्राय सबैको घरमा खसी–बोका काट्ने चलन छ । गाउँघरमा आफ्नै घरमा पालेको खसी–बोका काट्ने गरिए पनि सहर बजारमा भने बाहिरबाट किनेर ल्याएको खसी–बोका काट्ने गरिन्छ ।
बाहिरबाट किनिएका खसी बोका कति स्वस्थ होलान् ? त्यसैले खसी–बोका किन्दा स्वास्थ्य अवस्था तथा मोटाई लगायतका विषयमा ख्याल गर्नु बुद्धिमानी हुने पशुचिकित्सकहरुले बताएका छन् । अस्वस्थ खसी बोकाको मासु खानाले विभिन्न रोगी पशुबाट मानिसमा समेत जुनोटिक रोग सर्न सक्ने चिकित्सकहरू बताउँछन् ।
सिङ हेरेर छान्नुस् खसी
चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रङ्ग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रङ्गको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रङ्ग लगाइदिएका हुन्छन् ।
सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रङ्ग लगाउँछ। निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेनटाइन स्थापना गर्ने तयारी भएको बताएको छ।
यस्ता खसी हानिकारक
चौपायाको शारीरिक लक्षण हेरेरै पनि ती उपभोगयोग्य भएर नभएको पत्ता लगाउन सकिन्छ । ‘छाम्दा तापक्रम बढी भएको, सिंगान बगेको, चिप्रा लागेको, झुम्म परेको देखिने चौपाया रोगी हुन सक्छन्,’ ।
भित्री रोगको लक्षण तीनको शारीरिक चालढालबाटै थाहा पाइने भएकाले ध्यान दिएर हेरे पनि चौपाया उपभोगयोग्य भए/नभएको थाहा हुन्छ ।’
चिकित्सकहरूका अनुसार उपभोक्ताले अति दुब्लो, आँखा आवश्यकता भन्दा बढी रसिलो भएको, झोक्र्याएका लगायत विशेषता भएका खसी बोका किन्नुहुँदैन । जिउँदा खसी बोका हेरेर नै त्यसको स्वस्थता अनुमान लगाउन सकिने भए पनि ढुक्क हुने स्थिति हुँदैन ।