विराटनगर प्रदेश १ को राजधानीमात्र नभएर देशकै दोस्रो ठुलो सहर पनि हो । तर ब्यापार–व्यवसायमा भने विराटनगर भारतसँग पूर्ण रूपमा निर्भर छ भन्दा फरक नपर्ला । हुन त नेपाल नै आत्मनिर्भर नभएको मुलुक हो । तर सीमावर्ती महानगरपालिका विराटनगर भाटभटेनीसहित ठुला–ठुला तीन मल र फराकिलो बजार हुँदाहुँदै पनि भारतीय बजार जोगबनीमा निर्भर छ ।
हुन त भारत बिहारको अररिया जिल्लामा पर्ने जोगबनी बजारमा भारतीय व्यापारीको मात्र नभएर नेपाली नागरिकको पनि व्यवसाय एवम् रोजगारमा राम्रो पकड छ । जोगबनीका प्रमुख पसलका सञ्चालक एवम् कामदारसमेत नेपाली छन् । अझ, उपभोक्ता त पूर्ण रूपमै नेपाली छन् । भाषा, नेपाली चल्छ, नोट नेपाली नै चल्छ तर ‘लुट’ भने भारतीय चल्छ !
बनारसी साडीदेखि लिएर नेपाली ढाका टोपीसम्म पाइने जोगबनीले पहाड़ी क्षेत्र सङ्खुवासभादेखि लिएर तेहथुम, भोजपुर, खोटाङसम्मका उपभोक्तालाई तानेको छ । तराईमा झापा, मोरङ, सुनसरी र उदयपुरका उपभोक्ता त उसका लागि सहज उपभोक्ता नै भए । उपभोक्तामात्र नभएर व्यापारीहरू पनि जोगबनीबाट सस्तोमस्तोमा सामान ल्याएर भरपूर रूपमा फाइदाले आफ्ना खल्ती भर्छन् ।
स्थानीय व्यापारीका अनुसार जोगबनी ९८ प्रतिशत नेपाली र दुई प्रतिशतमात्र भारतीय ग्राहकमा निर्भर छन् । यसले विराटनगरका मात्र नभए पूर्वी क्षेत्रमा खुलेका सुविधासम्पन्न सपिङ मल (सपिङ कम्प्लेक्स) कुनै औचित्यता राख्न दिँदैन । जोगबनीले ठुला लगानीमा खुलेका विराटनगरका भाटभटेनी, सेन्ट्रल मल, आरके सिटी सेन्टरमात्र होइनन्, इटहरीकै भाटभटेनी, गोर्खा डिपार्टमेन्टलाई पनि एक प्रकारको धक्का दिएकै छ ।
मल र सपिङ कम्प्लेक्समात्र होइन, स–साना लगानीमा खुलेका पसलहरूमा समेत ग्राहक हुँदैनन् । सबै ग्राहक–उपभोक्ता जोगबनीमा सोहोरिन्छन् । हालकै कुरा गर्दा विराटगरको बजारमा एक प्रकारको शून्यता छ भने भारतीय बजार जोगबनीमा खुट्टा राख्ने ठाउँ छैन, क्रेता र बिक्रेताबीच कोलाहल छ । यसैले त जोगबनीका अगाडि लम्पसार छ, विराटनगर । कारण सुलभ मूल्यमात्र होइन, सरकारको खराब रणनीति पनि ।
लकडाउनमा राहत, सीमा खुल्दा ‘घाटै–घाटा’
कोरोना महामारीमा विराटनगरका व्यापारीले राहतको सास फेरेका थिए । कोरोना सङ्क्रमण न्युनीकरण गर्न सरकारले लकडाउन गर्नुका साथै सीमामा आवत–जावपत बन्द गरिदिँदा ग्राहक–उपभोक्ता पारी जान पाएनन् । दसैँछेक सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै दोकान खोल्न अनुमति दिँदा व्यापारीले राम्रो कमाइ गरे ।
कोही–कोही व्यापारीले एक वर्ष पसल नखुल्दा पनि घाटा नभएको अनुभव गरे । ‘गत वर्ष कोभिडका कारण सीमा बन्द हुँदा राम्रो कमाइ भएको थियो’, विराटनगरस्थित न्यु अम्बे स्टोरका सञ्चालक गौतम चेलो भन्छन्, ‘पछि पुनः लामो समय पसल बन्द गर्नुपर्दा पनि घाटा भएन । भाडा तिर्ने पैसा निकालेको थिएँ ।’ वि.सं २०७२ सालयता जोगबनीले विराटनगरमाथि दबदबा कायम राख्न थालेको उनको भनाइ छ ।
अझ, दसैँ, तिहार र छठपर्वलगायतका चाडपर्व नजिकिए सरकारले सीमा खोल्ने निर्णय गरेसँगै यसपटक विराटनगरको व्यापारको रौनकता घटेको छ । असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णय गरेपनि भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई नाका खोल्न आदेश नदिएपछि नाका बन्द नै थियो । तर विभागको पत्र प्राप्त भएपछि जिल्ला प्रशासनले आवश्यक स्वास्थ्य सावधानी अपनाएर गत शनिबारबाट लागु हुनेगरी जोगबनी नाका १९ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आयो ।
नाका खुलेसँगै खुलेको जोगबनी बजारले विराटनगरका ब्यापारीलाई घाटा बनाएको न्यु लुकका सञ्चालक मोहम्मद इशान खान बताउँछन् । ‘जोगबनी बोर्डर खुलेसँगै नेपाली उपभोक्ता भारतीय बजारतर्फ आर्कषित हुन थालेपछि विराटनगरको व्यापारमा रौनकता छैन’, खान भन्छन्, ‘अहिले जोगबनीमा भीड छ हामी भने मोबाइल चलाएरै दिन कटाउनुपर्ने विवशतामा छौँ ।’
सुलभ दामका कारण जोगबनीमा आकर्षण
मुख्यतः दसैँको किनमेल गर्न मोरङको विराटनगर, रङ्गेली, बेलबारी र उर्लाबारी तथा सुनसरीको दुहबी, इटहरी र धरानलगायतका क्षेत्रहरूबाट दैनिक हजारौँ नेपाली उपभोक्ता भारतीय बजार जोगबनी पुग्ने गरेका छन् । जसले गर्दा कोरोनाका कारण थलिएर पुनः उठ्ने प्रयासमा रहेको विराटनगरको व्यापार दयनीय बन्दै गएको विराटनगरका स्थानीय व्यापारीहरू बताउँछन् ।
चामल, दाल, नुन, चिनी, खाने तेल र मरमसलालगायतका दैनिक उपभोग्य वस्तु तथा लत्ताकपडा खरिद गर्नसमेत नेपाली उपभोक्ता सीमावर्ती बजार जोगबनी पुग्ने गरेका छन् । तर यसको प्रत्यक्ष असर विराटनगरका व्यापारीले व्यहोर्नु परेको छ । तुलनात्मक रूपमा भारतीय बजारमा सस्तो हुुने भएकाले नेपाली उपभोक्ता जोगबनी पुग्ने गरेको स्वयम् उपभोक्ता बताउँछन् ।
‘हुन त उपभोक्तालाई नाकाबन्दी तथा लकडाउनको असर परेन’, जोगबनीबाट फर्किएकी विराटनगरकी सन्ध्या सिंह भन्छिन्, ‘नाका बन्द हुँदा पनि मान्छेहरू लुकिछिपी जोगबनी जान्थे । अहिले नाका खुलेको छ । आवत–जावत गर्न सहज भएको छ ।’
‘सस्तो दाम भएका कारण पनि हामी खुद्रा समान किन्नले जोगबनी आउनु परेको हो’, उनी भन्छिन्, ‘यहाँ आउनु–जानु गरेर भाडा जोड्दासमेत जोगबनी आउँदा नै हामीलाई फाइदा हुन्छ । नेपालमा यति सस्तो पाएको भए हामी यहाँ आउँदैन थियौँ ।’
यस्तै, मोरङको उर्लाबारी घर भएकी शोभा भण्डारी पनि समान सस्तो भएकै कारण त्यति टाढाबाट जोगबनी धाएको उल्लेख गर्छिन् । ‘यहाँ आउनुको कारण भने सस्तो भएरै हो’, उनी भन्छिन्, ‘विशेषगरी चिनी सस्तो छ । लत्ताकपडा अलि सस्तो हो कि भन्ने लाग्छ ।’
सरोकारवाला निकाय भन्छ : सरकारको ध्यान गएन
सस्तोमा उपभोग्य वस्तु पाइन्छ कि ! भन्ने विश्वासले नेपाली उपभोक्ता भारतीय बजार पुग्ने भएपनि भारतीय बजारमा गुणस्तर र तौलमा हुने ठगीबाट नेपाली उपभोक्ता अझै पनि अनविज्ञ छन् । चाडपर्व लक्षित घरायसी किनमेलका लागि सीमामा कुनै अवरोध नहुँदा भारतीय बजार जोगबनीमा दिनहुँ ठुलो सङ्ख्यामा नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ ।
नेपाली उपभोक्ताहरू भारतीय बजारका व्यापारीको व्यवहार नबुझेरै थोरै सस्तो हुने लोभमा किनमेलका लागि जोगबनी नै पुग्ने गरेका छन् । यसबाहेक दैनिक उपभोग्य वस्तु र लत्ता कपडामा लाग्ने भन्सार र मूल्य अभिवृद्धि करका कारण भारतबाट आयातित सामान नेपालमा महङ्गो पर्न जाँदा नेपाली उपभोक्ताले भारतीय बजार नै रोज्ने गरेका छन् ।
यसको समाधानका लागि स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने तथा व्यापारीहरूलाई भन्सार तथा भ्याटमा आवश्यक छुट दिने व्यवस्था मिलाउनुपर्ने विराट व्यापार सङ्घका अध्यक्ष सुजन थापाको भनाइ छ ।
‘नेपाल सरकार धेरै कुरामा चुकेको छ । लामो समयदेखि नेपाली उपभोक्ताको व्यवहार परिवर्तन हुनेगरी सरकारले ठोस योजना बनाउन नसक्दा जोगबनी दिनानुदिन चम्कँदै छ अनि विराटनगरको व्यापारको साख घट्दै छ,’ थापा भन्छन्, ‘नेपाल सरकारले भन्सारको रेट केमा महँगो छ, त्यहाँ घटाएमा पनि यताका व्यापारी उक्सिन्छन् ।’
सरकारको खराब रणनीतिका कारण मारमा व्यापारी
२०७६ चैतबाटै बन्द भएको जोगबनी नाका दसैँछेक नै खोल्न दिनु सरकारको खराब रणनीति भएको व्यापारी गौतम चेलोको आशङ्का छ । ‘नेपाल सरकारले यो निर्णय चाडपर्व सकिएपछि गरेको भए हामी उक्सिन्थ्यौँ कि ?’, उनी भन्छन्, ‘दसैँछेक नै उता खोल्न अनुमति दिँदा यता सुक्यो । सरकारबाट असहयोग भएको छ ।’
लामो समस्य सटर बन्द गरेर बस्नुपर्दा पनि कर तिरेको स्मरण गर्दै उनले भने, ‘लकडाउनमा स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न अनुमति पाएको भए सहज हुनेथियो । सटर बन्द गर्दा भाडा र कर तिर्न बाध्य हामीलाई पुनः चाड पर्वछेक नाका खोलिँदा हामीलाई मर्का परेको छ ।’
सरकारले नाकामा कडाइ गरेमा वा स–साना पोका बोकेर नेपाल फर्किने उपभोक्तालाई सताएमा पनि यस्तोक्रम रोकिन सक्ने व्यापारी बताउँछन् । नाकामा सहज गरिदिनु पनि सरकारको खराब रणनीति भएको कतिपय व्यापारीको भनाइ छ ।