हामीले नियमित रूपमा दाह्री काट्ने गरेका छौँ । तर दाह्री कसरी काट्दा स्वास्थ्यकर एवं वैज्ञानिक हुन्छ भन्ने जानकारी कमैलाई हुन सक्छ। हामीमध्ये धेरैजसोले दाह्री काट्ने तरिका आफ्ना बुवा, काका, दाइ वा कुनै आफन्तबाट सिकेका हुन्छौ।
थुप्रै व्यक्तिका लागि दाह्री काट्नु पीडादायक प्रक्रियासमेत हुने गर्छ। उनीहरू दाह्री काट्ने सही तरिका थाहा नभएर वा छिट छिटो त्यो काम सम्पन्न गर्ने निहुँमा आफूलाई नोक्सान पुर्याउँछन्।
– अनुहारमा दाह्री कुन दिशाबाट उम्रेको छ र कतातर्फ गइरहेको छ भन्ने बारेसमेत विशेष ध्यान दिनुपर्छ। जुन दिशामा रौँ उम्रेको छ, सधैँभरि त्यही दिशामा काट्ने प्रयास गर्नुपर्छ।
– धेरैजसो व्यक्तिले अनुहार चिटिक्क पार्न भनेर दाह्री उम्रेको दिशा विपरीत काट्ने गर्छन्। यसो गर्दा अनुहार बढी सफा त देखिन्छ तर छालाभित्र भएको रौँसमेत काटिन्छ । दाह्री उम्रेको दिशा विपरीत काट्दा अनुहारमा जलन, रातोपना, धब्बा, दाग, सङ्क्रमण आदि हुने सम्भावना बढ्छ।
– दाह्री काट्नुभन्दा अघि नै ब्लेड धारिलो छ कि छैन भन्ने सुनिश्चित गर्नुपर्छ। ब्लेडको गुणस्तर हेरेर, प्रयोग गर्दा दुखाएको छ कि, यो कुरा विचार गरेर निश्चित अन्तरालमा ब्लेड बदल्नुपर्छ।
– जाडो महिनामा दाह्री काट्दा तातो पानीले भिजाउने गरिन्छ । तर यसो गर्नु गलत हो । दाह्री र कपालका लागि भने चिसो पानी प्रयोग गर्नु राम्रो हुन्छ । तातो पानीले दाह्रीलाई असर गरिरहेको हुन्छ । तातो पानीले चिल्लो पदार्थ निकाल्ने हुँदा दाह्री झर्ने र कडापन बढी हुने समस्या आउँछ ।
– दाह्री काट्नुअघि लामो समयसम्म दाह्रीलाई भिजाउने र छोप्ने चलन छ । तर यसो गर्नु पनि गलत हो । यसो गर्दा दाह्री र त्यहाँको छालका लागि नराम्रो हुन्छ । त्यस कारण दाह्री भिजाउनासाथ त्यसलाई सुक्खा बनाइहाल्नु राम्रो हुन्छ । धेरै बेर दाह्रीलाई भिजायो भने त्यो पानीले दारीलाई रुखो बनाउँछ ।
– लामो दाह्रीलाई सफा राख्न धेरै उपाय अपनाइन्छ । नुहाउने क्रममा वा सफा गर्ने क्रममा स्याम्पुभन्दा कन्डिसन प्रयोग गर्नु राम्रो हुन्छ । प्राय हप्तामा एकदेखि दुई पटकसम्म स्याम्पु र तीनदेखि चार पटक कन्डिसन लगाउनु राम्रो मानिन्छ ।
– जसरी कपालमा तेल लगाउँछौँ, दाह्रीमा पनि नुहाएर थोरै तेल लगाउनु राम्रो हुन्छ ।
– दाह्रीलाई सफा काइँयोले कोर्नुपर्छ, जसले यसलाई नरम बनाउन मद्दत गर्छ ।
– धेरै मानिस दाह्री कोर्न लजाउँछन्, तर लजाउन हुँदैन ।
– हजामकहाँ गएर दाह्री काट्दा उल्टो तरिकाले कहिल्यै पनि काट्न हुँदैन
– आफूले उपयोग गर्ने रेजर अरूलाई दिनु हुँदैन। सैलुनमा दाह्री बनाउँदा ब्लेड नयाँ भएको र औजार सङ्क्रमणमुक्त भएको सुनिश्चित गर्नुपर्छ ।