चिया र कफी नपिउने मानिस सायदै होलान्। घरमा पाहुना आउँदा होस् या साथीसंगी भेटघाट हुँदा चिया–कफीको अफर चलिहाल्छ। हाम्रो दैनिक जीवनमा चिया र कफी अनिवार्य भइसकेको छ। यो सँगै चिया र कफीको फाइदा–बेफाइदाका कुरा पनि चलिरहन्छन्। चिया र कफीका गुण–दोषबारे विभिन्न अध्ययन–अनुसन्धानहरू भएका छन्।
विश्व स्वास्थ्य सङ्गठनको क्यान्सरका लागि अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय निकाय रिसर्च अन क्यान्सरले हालैको अध्ययनमा कफीमा क्यान्सरजन्य तत्त्व हुने गरेको जनाएको छ। कुनै अध्ययनले भने कफी खाँदा कोलन क्यान्सरबाट बचाउने देखाएका छन्। नियमित कफी पिउँदा अल्जाइमर र पार्किन्सन्स रोगबाट जोगिन सकिने केही अध्ययनको नतिजा छ।
उता नियमित चिया खाँदा छाला, स्तन र प्रोस्टेट क्यान्सरको सम्भावना न्यून हुने केही अध्ययनले देखाएका छन्। चियामा पनि ग्रिन टी स्वास्थ्यका लागि अझै प्रभावकारी मानिन्छ। किनकि यसमा एन्टिअक्सिडियन्ट तत्त्व हुन्छ।
ग्रिन टीले शरीरको कोष हानी हुनबाट जोगाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने अध्ययनहरूले देखाएका छन्। त्यस्तै ग्रिन टिले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ। चियाले दिमागको कोषलाई हानी हुनबाट जोगाएर अल्जाइमर रोगबाट पनि बचाउने अध्ययनहरूले देखाएका छन्।
के पिउनु राम्रो
चिया वा कफीमध्ये यही नै उपयुक्त हुन्छ भन्न कठिन हुने विज्ञहरू बताउँछन्। चिया र कफीमा पाइने तत्त्व, शरीरमा तिनको भूमिका र तिनीहरूले हाम्रो शरीरमा पार्ने प्रभावबारे छुट्टाउन सकिँदैन। ‘मलाई लाग्छ मानिसहरूले कफी र चिया दुवैलाई मन पराउँछन् किनकि यी दुवै एक आपसमा परिपूरक बनेका छन्,’ नेसनल इन्स्टिच्युट अफ हेल्थका चिकित्सक इलिओट मिलर भन्छन्।
मिलर र उनका सहयोगीले अमेरिकाका विभिन्न पृष्ठभूमिका ६८ हजार मानिसको मुटु रोगका लक्षणबारे अध्ययन गरेका थिए। झन्डै ७५ प्रतिशतले कफी पिएका थिए भने ४० प्रतिशतले चिया पिएको जनाएका थिए। नियमित रूपमा एक कपभन्दा बढी चिया पिउँदा रक्त नलीमा क्याल्सियम बन्ने सम्भावना न्यून भई मुटु रोगको खतरामा कमी हुने अनुसन्धानकर्ताहरुले भेटेका थिए।
बिहान कालो चिया पिउनुहोस्
बिहानीपखको कफीले तपाईंलाई फुर्तिलो मात्र बनाउँदैैन बरु थप ऊर्जा पनि प्रदान गर्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रेसनका अनुसार दैनिक एक कप कफी पिउँदा मेटाबोलिजमलाई तीन घन्टा सशक्त बनाउँछ र ऊर्जा दिन्छ । तर, बढी कफी पिउनु पनि स्वास्थ्यका लागि त्यति फाइदाजनक होइन । दिनमा तीन कपभन्दा बढी कफी नलिन पनि विज्ञहरुले सुझाव दिएका छन् ।