स्यानिटरी प्याडमा कर लगाइएको भन्दै काठमाडौंमा निरन्तर प्रदर्शन भैरहेको छ । निःशुल्क रूपमा वितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको भन्दै आज काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको हो ।
महिलाहरुले महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर बढाएको भन्दै उनीहरुले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले ‘सरकार महिनावारीमा कर कहिलेसम्म?’, ‘रातो कर माफ गर’ ‘स्यानिटरी प्याड विलासिता होइन, आवश्यकता हो’ लगायतका प्लेकार्ड बोकेका थिए।
यता, सरकारले भने स्यानिटरी प्याडमा कर बढाएको भ्रमपूर्ण हल्ला भएको जनाइसकेको छ । वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको भन्दै अर्थ मन्त्रालयले आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको भन्सार महसुल नबढाइएको जनाएको छ ।
पछिल्लो समय महिनावारीको समयमा आधुनिक सेनेटरी प्याड प्रयोग गर्ने महिलाको संख्या बढ्दो छ । महिनावारीको समयमा हुने संक्रमणबाट बच्न सेनेटरी प्याड सुरक्षित मानिन्छ ।
सुरक्षित मानिने भएकै कारण धेरै महिलाले महिनावारीको समयमा बजारमा सजिलै पाइने सेनेटरी प्याड प्रयोग गर्छन् । सामान्यतया यस्ता प्याड प्रति प्याकेट ७० देखि ३ सय रुपैयाँसम्म पर्ने गर्दछ । एक प्याकेडमा ६ वटा सम्म प्याड हुन्छन । तर, यी प्याड विदेशवाटै आयातित हुने गर्दछ ।
नेपालमै उत्पादन गर्न थालिए पनि आयातित प्याडको माग र प्रयोग बढ्दाे छ । जसका कारण वर्षेनी करोडौं रुपैयाँको सेनेटरी प्याड नेपालमा आयात हुन्छ । तर, सरकारले भने सेनेटरी प्याड आयातमा लाग्ने भन्सार शुल्कमा वृद्धि गरेपछि त्यसको विरोध भएको हो ।
सबै तस्विरहरू : न्यूज कारखाना