ताप्लेजुङ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणमुक्त जिल्ला भएको छ । पछिल्लो पटक सङ्क्रमित भई होम आइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ सङ्क्रमणमुक्त जिल्ला भएको हो ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबार बिहान पाँच जना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार बाँकी रहेको पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै सङ्क्रमणमुक्त जिल्ला बनेको हो । जिल्लाको नौ स्थानीय तहमा पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक अन्य सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए ।
कोभिड–१९ को दोस्रो चरण सुरु भएपछि ताप्लेजुङमा दुई हजार ५३१ जना सङ्क्रमित भएका पनि सहायक प्रजिअ अधिकारी खड्काले जानकारी दिइन् । उक्त सङ्ख्यामध्ये सबैभन्दा बढी सदरमुकामस्थित जिल्ला अस्पतालमा गरिएको कोरोना परीक्षणमार्फत ५८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यसपछि फुङ्लिङ नगरपालिकामा ५५६ जना सङ्क्रमित भएका थिए । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ जना सङ्क्रमित भएका थिए ।
यता कोभिड सङ्क्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन विधिमार्फत आठ हजारी गरी कूल १० हजार २८८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।