दुर्लभ रेड पाण्डाको छालासहित प्रहरीले पाँच युवाहरूलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको चाबहिलबाट पाँच युवाहरूलाई पक्राउ गरेको हो । उनीहरूले अवैध रुपमा रेड पाण्डाको छाला बिक्री वितरण गर्न लागेको सूचना पाएपछि प्रहरीले चावहिल स्थित सत्कार क्याफेबाट उनीहरूलाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेका युवक लामा नुवाकोटका रुपे अधिकारी, संखुवासभाका अरुण राई र सिन्धुपाल्चोकका सुभाष गिरी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै युवाहरू २५ वर्ष भन्दा कम उमेरका छन् ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार पठाएको छ ।
कस्तो हुन्छ रेडपाण्डा
हेर्दै आकर्षक देखिने र लजालु स्वभावको यो जन्तु सोझो तथा हलुका रातो, सेतो र कालो रङको हुन्छ । २ हजार मिटरभन्दा बढी उचाइमा पाइने रेडपाण्डा निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो । साइटिसको अनुसूची १ र आइयुसिएनको रातो किताबमा अति सङ्कटापन्न सूचीमा सूचीकृत छ । विकास निर्माण, परम्परागत पशु प्रणाली, वासस्थान विनाश, कुकुरको आक्रमण, आहाराको विनाश अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनमा उल्लेख छ ।
१७ प्रकारका बाँस र निगालो प्रजातिको घाँस रेडपाण्डाको मुख्य आहार हो । तीव्र वन फँडानीका कारण बाँस र निगालो लोप हुँदै गएपछि आहाराको खोजीका लागि रेड पाण्डा मानव बस्ती नजिकै आउन थालेको रेड पाण्डा नेटवर्कले जनाएको छ । अत्यन्त सोझो प्रकृतिको रेड पाण्डा सिकार गर्न सजिलो हुने भएकाले पनि कुकुर र अन्य जङ्गली जनावरको आक्रमणमा सजिलै पर्ने गरेको इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका कुमार गुरुङले बताए ।
२३ जिल्लामा रेड पाण्डा
नेपाल सरकारले रेड पाण्डा नेटवर्कको सहयोगमा गरेको पछिल्लो सर्वेक्षणले लोपोन्मुख रेड पाण्डा नेपालको २३ जिल्लामा पाइने पुष्टि गरेको छ । रेड पाण्डा नेटवर्कले ३५ जिल्लामा गरेको सर्भेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा रेड पाण्डा (हाब्रे) को बासस्थान बढी रहेको समेत पहिचान गरेको हो ।
वन विनाश र बासस्थल अतिक्रमणले गर्दा लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको रेड पाण्डा नेपालमा करीब एकहजार मात्रै भएको अनुमान गरिन्छ। त्यसमाथि बढ्दो चोरीशिकारीका कारण यो लजालु जन्तु संकटमा परेको छ।
समुद्र सतहबाट ३ हजार मिटरमाथिको वनक्षेत्रमा रहने रेड पाण्डाको रौं र छालाबाट बनेका टोपी चीनको यूनान र सिचुआन प्रान्तमा नवविवाहितलाई उपहार दिइन्छ।