नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा १० हजार ८६४ जनाको नमूना परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमण पाइएको छ ।
आज निको भएका अर्थात डिस्चार्ज भएका भन्दा थपिएका सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । वितेको २४ घण्टामा ५०१ जना निको भएका छन् ।
अहिलेसम्म कूल सङ्क्रमितको ९७ दशमलव ३ अर्थात ७ लाख ८८ हजार ८ जना निको भएका छन् भने ११ हजार ३६१ जनाले ज्यान गुमाएका छन् ।
अहिले देशभर १० हजार ३६० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।
आज भेटिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा मात्रै तीन अंक अर्थात १०० भन्दा बढी छन् भने अन्य जिल्लाहरूमा दोहोरो वा सिंगल डिजिटमा पाइएको छ ।
आज झापामा ७८ जना मोरङमा ६१ जना सुनसरीमा १३ जना काठमाडौंमा १८५ जना चितवनमा ६४ जना मकवानपुरमा १७ जना ललितपुरमा ३३ जना कास्कीमा ६६ जना नवलपरासी पूर्वमा १२ जना र रुपन्देहीमा २५ जना फेला परेका छन् । यसबाहेक अन्य जिल्लामा भेटिएका सङ्क्रमितको सङ्ख्या सिंगल डिजिट अर्थात ९ वा सो भन्दा कम रहेको छ ।