गैँडाको खाग सहित प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सोलुखुम्बुका तिलक बहादुर बस्नेत र बाग्लुङका दिपक गोतामेलाई काठमाडौंको गैरीगाउँबाट गैँडाको खागसहित पक्राउ गरेको हो ।
उनीहरूले संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री वितरण गर्न लागेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय अपराध महाशाखाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा खाग र सुन बराबर मूल्यमा कारोबार हुने गर्छन् । त्यसैले खागका लागि गैँडाको चोरी सिकार हुने गरेको छ ।
वन्यजन्तु र तिनका अङ्गहरूको व्यापार नियमन गर्न कार्यान्वयनमा ल्याइएको साइटिस महासन्धिले सन् १९७७ देखि नै गैँडाको खाग ओसारपसारमा प्रतिबन्ध लगाएको छ । तैपनि खागको व्यापारमा कुनै कमी आएको छैन ।
विश्वमा अहिले गैँडाका पाँच प्रजातिहरू रहेका छन् । तीमध्ये अफ्रिकी सेतो गैँडा र अफ्रिकी कालो गैँडा दुईसिङे हुन् भने इन्डियन गैँडा, जाभाली गैँडा र सुमात्राली गैँडा एकसिङे हुन् । नेपाल र भारतमा मात्रै पाइने गैँडालाई इन्डियन गैँडा अर्थात् ग्रेटर वन हर्न राइनोसरस भनिन्छ यिनको सङ्ख्या झन्डै तीन हजार छ सय छ । अहिले भारतका सात र नेपालका चार राष्ट्रिय निकुञ्जमा गैँडा पाइन्छन् ।