प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितलाई राहतको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन् । पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न पूर्व आएका देउवाले आइतबार बिहान सशस्त्र प्रहरी बलको कार्यालय पकलीमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग भेटघाट गर्दै बाढी पीडितलाई राहतको व्यवस्था मिलाउने जनाएका हुन् ।
मङ्गलबार आएको बाढीका कारण समस्यामा परेका पीडितको लागि सरकारले उचित राहतको व्यवस्था मिलाउने बताउँदै उनले काठमाडौँ पुगेपछि राहतको व्यवस्था मिलाउने पनि जनाए । बाढी पीडितको पक्षमा सरकार रहेको उनको भनाइ छ ।
भेटघाटका क्रममा कोसी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले ज्ञापन पत्र बुझाएका छन् । बाढी डुबानको कारण ठुलो मात्रामा धनजनको क्षति भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवा सरकारको ढुकुटीमा बजेट नभए पनि विदेशी दातृसंस्थाको सहयोगमा राहत उपलब्ध गराउने बाचा गरे ।
विपत्तिको समयमा केही राहतको प्याकेज ल्याउलान् भन्ने आश गरेका बाढीपीडितले प्रधानमन्त्री देउवाले काठमाडौँ फर्केर राहत प्याकेज घोषणा गर्ने आश्वासन मात्रै बाँडे ।
करिब पाँच मिनेट बोलेका देउवाले बाढीपीडितलाई यसअघि नै आर्थिक सहयोग गरेको बताउँदै काठमाडौँ फर्किएर मन्त्रीस्तरको बैठकबाट राहतस्वरूप गिफ्टको व्यवस्था गर्ने बताए । उनले बाढीले पुर्याएको मानवीय तथा धनमालको क्षतिप्रति दुखित रहेकोसमेत बताए ।
प्रधानमन्त्री देउवाले कर्मचारीबाटै बाढीपहिरो र डुबानको अवस्था बुझे, पीडितलाई भेटेनन्
प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ का सुनसरी, मोरङ, ताप्लेजुङ, इलाम जिल्लाका बाढीपीडितको अवस्था बुझ्न आएका छन् ।
उनले पीडितलाई नभेटी सरकारी कर्मचारीबाट बाढीपहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझेका छन् । प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय गरे पनि उनी पीडितलाई नभेटी हेलिकप्टरबाट मन्त्रीहरूको जम्बो टोलीका साथ प्रभावित क्षेत्रमा घुमेका छन् ।
उनीसँगै डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ आएका छन् ।
बिहानै सुनसरी आएका देउवाले सशस्त्र प्रहरी बल पकलीमा सप्तरी सुनसरीका प्रमुख जिल्ला अधिकारीबाट ती जिल्लाको वस्तुगत अवस्थाको तथ्यांक लिएका थिए ।
उनले प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेशका मुख्य सचिवबाट पनि प्रदेशको अवस्था बुझेका थिए ।