पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार दैनिक निरन्तर रुपमा घटेर २६ सय बिन्दु नजिक पुगेको छ ।
मंगलबारको बजारमा पनि सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटी हो ।
सेन्सेटिभ परिसूचक ११.४२ अकंले घटेर ४९४.९१ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै समूहका उपसूचक घटेका छन् ।
बजारमा परिसूचक घटेपनि सेयर कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दिनभरको बजारमा १८६ कम्पनीसहित कूल २१८ वटा स्क्रिप्टको कारोबार भएको छ । ७५ हजार ३७४ पटकको कारोबारमा कूल १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३६.०३, व्यापार ७९.३९, होटल तथा पर्यटन २४.३१, विकास बैंक १५४.४१, जलविद्युत् १३८.४५, वित्त १७५.५९, निर्जीवन बीमा ३२५.५६, उत्पादन ८९.२३, अन्य ३१.१३, लघुवित्त १११.९९, जीवन बीमा ४३१.९१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.५२ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १८ करोड ८२ लाख २७ हजार २९६ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १७ करोड ३८ लाख ४८ हजार ९८९, नेशनल हाइड्रोपावर रु १५ करोड ४८ लाख ७८ हजार ४५०, आइसिएफसी फाइनान्स रु १५ करोड ३७ लाख २७ हजार र एनआइसी एशिया बैंकको रु १४ करोड ५४ लाख ७१ हजार ११४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
त्यस्तै, घटेको बजारमा मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो । मेघा बैंक १.९७, बोटलर्स नेपाल तराई १.४२ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले मात्रै १.३० प्रतिशतले कमाए ।
\उता, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गुर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । जोशी हाइड्रोपावर ९.८८ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ९.८२ प्रतिशतले गुमाए ।