झापामा टिपरले रोकिराखेको म्याजिक भ्यानलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत माइधार भन्ने ठाउँमा टिपरले म्याजिक भ्यानलाई ठक्कर दिएको थियो ।
सडकको साइडमा रोकिराखेको को२च २६३२ नम्बरको म्याजिक भ्यानलाई प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करपछि भ्यान उछिट्टिएर कनकाई नहरभित्र डुबेको थियो ।
नहरमा डुबेका कारण भ्यान चालक दमक नगरपालिका–९ निवासी अन्दाजी ४० वर्षीय नेत्रबहादुर खड्काको निसास्सिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले केटिएम दैनिकलाई जानकारी दिए ।
दुर्घटनापछि टिपरको ज्यादती भएको भन्दै स्थानीयले झापाको माइधार खण्डमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । त्यसबाहेक उनीहरूले साघँुरो ठाउँमा ट्राफिक प्रहरीले जाँच गरेको भन्दै कारबाही माग गर्दै पूर्व–पश्चिम राजमार्गमा अवरोध गरेका थिए ।
‘त्यही नजिकै ट्राफिक चेकिङ भइरहेको थियो’, स्थानीय इसान सङ्ग्रौलाले भने, ‘ठाउँ साघुँरो छ । यस्तै ठाउँमा चेकिङ हुँदा दुर्घटना भएको हो । ट्राफिक जाँचको प्रतीक्षा गरिरहँदा पछाडिबाट आएको टिपरले ठक्कर दिएको हो ।’
यता, प्रहरीले भने हालैमात्र स्थानीयको अवरोध हटाउँदै भ्यान नहरबाट झिकेको छ । ‘नजिकै ट्राफिक चेकिङ थियो’, डिएसपी कार्कीले भने, ‘रोकेको अवस्थामा टिपरले ठक्कर दिँदा भ्यान नहरमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको रहेछ । हामी अहिले घटनास्थलमै छौँ । भ्यान नहरबाट झिकिसकेका छौँ ।’