अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल बलियो टिम ओमानसँग फराकिलो अन्तरले पराजित भएको छ । आइतबार राति कतारमा भएको खेलमा नेपाल ओमानसँग ७–२ गोलान्तरले पराजित भएको हो ।
कतारको राजधानी दोहास्थित कतार युनिभर्सिटीको मैदानमा ओमानलाई जिताउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक–एक गोल गरे ।
पहिलो हाफमा २–१ ले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल एक सय ६८ औँ स्थानमा रहँदा ओमान ७८औँ स्थानमा छ ।
यससँगै नेपालले ओमानसँग १२ खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ । नेपालले ओमानसँग ५० गोल खाँदा दुई गोल गर्न सकेको छ । अब नेपाल माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा सहभागी हुन कतारबाटै त्यसतर्फ प्रस्थान गर्ने छ ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, नेपाल र मालदिभ्स गरी पाँच टोली सहभागी हुनेछन् । साफ च्याम्पियनसिपका सबै खेल राजधानी माले स्थित राष्ट्रिय फुटबल रङ्गशालामा खेलाइनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । उक्त साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार किरण चेमजोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेका छन् ।
जसमा किरणका साथै दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरजज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नीतिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द समावेश छन् ।