इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लासँग पराजय बेहोरेको छ । शनिबार भएको खेलमा घरेलु मैदानमा युनाइटेड भिल्लासँग १–० गोलले पराजित भएको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलको अन्तिम समय पाएको पेनाल्टीमा चुक्दा युनाइटेड स्तब्ध भएको हो । खेलको इन्ज्युरी समयमा युनाइटेडले पेनाल्टीको मौका पाएको थियो ।
१–० गोलले पछाडि रहेको अवस्थामा पाएको उक्त पेनाल्टी ब्रुनो फर्नान्डेसले प्रहार गरेका थिए । पेनाल्टीमा राम्रो अनुभव भएका रोनाल्डोकै अगाडि फर्नान्डेसले प्रहार गरेको पेनाल्टी मिस भएको थियो ।
त्यसअघि भिल्लाले कोर्ट्नी हाउसको गोलमा अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८८औँ मिनेटमा हाउसले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।
यससँगै युनाइटेडले प्रिमियर लिगमा पहिलो हार ब्यहोरेको छ । हारसँगै ऊ चौथो स्थानमा खस्किएको छ । उसले ६ खेलमा १३ अङ्क जोडेको छ । भिल्ला भने सातौँ स्थानमा उक्लिएको छ । भिल्लाले ६ खेलमा १० अङ्क जोडेको छ ।