काठमाडौंका विद्यालय असोज १० गते आइतबारदेखि सञ्चालनमा आउने भएका छन् ।
महानगरपालिकाका शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ ।
विद्यालयले बुझाएको कार्ययोजना अनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिनेछ ।
यदि विद्यालयमा विद्यार्थी संख्या ठूलो भएको वा अभिभावक डराएको अवस्थामा विद्यालय खोल्न अनिवार्य नगरिएको जनाइएको छ ।
विद्यालय सञ्चालनका लागि महानगरपालिकाले महानगरभित्रको परिस्थिति अनुसार ‘कस्टुमाइज्ड मापदण्ड’ बनाएको र विद्यालयले ती २७ मापदण्ड अनिवार्य लागू गर्नुपर्ने शाखा प्रमुख सुवेदीले बताए ।
शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर महानगरले मापदण्ड बनाएको जनाएको छ ।विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालयले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने, शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ ।
यदि शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने शाखा प्रमुख सुवेदीले बताए ।
यस्तो छ विद्यालय सञ्चालनका तय गरिएको २७ बुँदे मापदण्ड
१) विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडा समेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने ब्यवस्था मिलाउने
२) विद्यालयहरुले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाइ अनिवार्य रुपमा शिक्षा विभागमा पेश गर्ने
३) विद्यालयमा विद्यार्थीहरुको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त कामपा स्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउने
४) विद्यालय सञ्चालनपूर्व विद्यालय परिसर र कक्षा कोठाको पूर्ण सरसफाइको सुनिश्चितता गर्ने ।
५) विद्यालयको भौतिक अवस्था, विद्यार्थी संख्या र उपलब्ध जनशक्तिका आधारमा एकै सिफ्ट वा फरक–फरक सिफ्ट र दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने
६) विद्यालयको गेटमा र कक्षा कोठा बाहिर सेनिटाइजर वा साबुन पानीको प्रबन्ध गरी बेला बेलामा हात सेनिटाइज गर्ने वा धुने व्यवस्था मिलाउने
७) प्रत्येक दिन विद्यालयको गेटमा नै थर्मल गन प्रयोग गरी ज्वरो परीक्षण गर्ने र ज्वरो नआएको एकिन गरेर मात्र भित्र पठाउने व्यवस्था मिलाउने
८) विद्यालयको गेट, कक्षा कोठा र शौचालयको प्रयोग गर्दा बच्चाहरु लाइनमा, पालैपालो दूरी कायम गरी निस्कने र पस्ने प्रबन्ध गर्ने
९्) सबैजनाले अनिवार्य रुपमा मास्क लगाउने, जगेडा मास्क लिइ आउने र मास्क नलगाइ आउने विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाउने
१०) खाजा र पानीको प्रबन्ध विद्यार्थी स्वयंले घरबाट नै गर्न सूचित गर्ने
११) कक्षाकोठाको क्षमताका आधारमा भौतिक दूरी कायम हुनेगरी मात्र विद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्ने ।
१२) प्रत्येक दिन कक्षा शुरु गर्नुपूर्व र कक्षा सञ्चालन पश्चात विद्यालय परिसर र कक्षा कोठाहरू अनिवार्य रुपमा सेनिटाइज गर्ने व्यवस्था मिलाउने
१३) स्वास्थ्य समस्या भएका विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई विद्यालय नआउन जानकारी गर्ने
१४) विद्यालयहरूले बालबालिकाहरूलाई हरेक दिन कक्षा सञ्चालनपूर्व १० देखि १५ मिनेट स्वास्थ्य सतर्कताबारे सजग गराउने र मनोपरामर्श गरी उत्प्रेरणा प्रदान गर्ने
१५) विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित वडाबाट नियमित रुपमा अनुगमन र समन्वय गर्ने व्यवस्था मिलाउने
१६) विद्यालयमा बच्चालाई स्वास्थ्य समस्या देखिएमा छुटै कक्षमा राख्ने व्यवस्था गर्ने, अभिभावकलाई खबर गर्ने र तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउने
१७) विद्यालयमा सामूहिक कार्यक्रम र सामूहिक प्रार्थना आदि नगराउने
१८) विद्यालयमा खाजा समयमा भिडभाड नहुने गरी आलोपालो गर्ने प्रबन्ध मिलाउने
१९) विद्यार्थीलाई आफ्ना पाठ्यसामग्री, पानीका बोतल, खाजा, झोला आदि सामान आफुले मात्र प्रयोग गर्न र साथीसँग साटासाट नगर्न सजग गराउने
२०) अभिभावकले नै बच्चा विद्यालयमा ल्याउने लैजाने कार्यलाई प्रोत्साहित गर्ने । सवारी साधन प्रयोग गर्नुपर्ने अवस्थामा सामाजिक दूरी कायम हुने गरी सवारी साधनमा बस्ने व्यवस्था मिलाउने ।
२१) विद्यालयमा स्वास्थ्य वा विज्ञान शिक्षकलाई कोभिड फोकल शिक्षक तोक्ने र हरेक कक्षामा नियमित अनुगमनका लागि विद्यार्थी मनिटरको व्यवस्था गर्ने ।
२२) विद्यालयमा स्वास्थ्य हेल्प डेस्क राख्ने
२३) सुरुका दिनमा माथिल्लो कक्षाबाट पठनपाठन शुरु गरेर क्रमशः तल्ला कक्षाहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने
२४) सुरुका दिनमा कक्षा सञ्चालन गर्दा केही पिरियड मात्र पठनपाठन गरी क्रमशः अवस्था हेरी पिरियडको संख्या बढाउँदै लैजाने
२५) सबै विद्यार्थीहरुको भौतिक उपस्थितीमा पूर्णरुपमा कक्षा संञ्चालन नहुन्जेल चालु वैकल्पिक सिकाइलाई निरन्तरता दिने
२६) अचानक कुनै नयाँ परिस्थिती आइपरेमा महानगर शिक्षा विभागमा खबर गरी प्राप्त निर्देशन अनुसार गर्ने ।
२७) काठमाडौं महानगरपालिका, शिक्षा विभाग मार्फत नियमित अनुगमनको व्यवस्था मिलाउने ।