महिलाको संवेदनशील अङ्ग जर्वजस्ती छोएको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन् ।
समाचार अनुसार घर फर्कँदै गरेकी एक युवतीमाथि यौन अपराध गरेको आरोप अभियुक्त युवामाथि लगाइएको छ ।
पक्राउ परेका युवा ३७ वर्षीय सुमन कुमार पौडेल भएको याहु न्युजले उल्लेख गरेको छ ।
सेप्टेम्बर २२ तारिखको दिनमा महानगरीय प्रहरी शितायाले पौडेललाई पक्राउ गरेको हो । पार्ट टाइम काम गर्दै आएको बताइएका पौडेल राजधानी टोकियोको सुगिनामी कु कोउएन्जी कितामा बस्दै आएको उल्लेख छ ।
‘रक्सीले मातेको अवस्थामा भएकाले मलाई केही सम्झना छैन’ अभियुक्त पौडेलले आरोपबारे प्रहरीलाई बयानमा भनेको समाचारमा उल्लेख छ ।
घटना अगस्ट २८ तारिख साँझ ६ बजेर ४० मिनेटको समयमा ताईतो वार्डमा भएको हो ।
अभियुक्त नेपाली युवाले महिलालाई ८० मिटर पिछा गरेर संवेदनशील अङ्ग छोएर दुर्व्यवहार गरेको दाबी प्रहरीलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।
उक्त यौन दुर्व्यवहारको हरकत लगत्तै पौडेलले ४० वर्ष उमेर समूहकी अर्का एक महिलासँग कुरा गर्दै ‘तिम्रो बहिनी राम्री छिन्’ भनेको पनि समाचारमा उल्लेख छ ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।