नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ । सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।
बैठक बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।
सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रीपरिषदले अहिलेसम्म पूर्णता पाउन सकिरहेको छैन। अब छिट्टै नै मन्त्रीपरिषद विस्तारको तयारीमा सरकार गठबन्धन लागिपरेको छ ।
देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको ७२ दिनपछि बुधबार बल्ल एक जना मन्त्री थप्दै छन् । देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने र आज नै शपथ लिने तयारी गरेका छन्।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । काँग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् । यस्तै १० साउनमा काँग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका थिए ।