नेपाली महिला राष्ट्रिय फुटबल टिमले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज हङकङको सामना गर्दै छ । यसअघि समूह ‘एफ’ को नेपालले आफ्नो पहिलो खेलमा फिलिपिन्सविरुद्ध २–१ गोलको हार बेहोरेको थियो । सोही हारका कारण आज नेपाल दबाबमा छ ।
एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्न आवश्यक छ । तथापि, हङकङविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुनेछैन । यसअघि नेपाल र हङकङबीच दुई खेल भएकोमा दुवै खेलमा नेपाल पराजित भएको छ ।
सन् १९८६ मा भएको पहिलो भेटमा १–० ले स्तब्ध भएको नेपालले १९८९ मा भएको दोस्रो भेटमा ३–० को हार बेहोरेको थियो । यस समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छ । एसियन कप २० जनवरी २०२२ देखि फेब्रुअरी ६ सम्म भारतमा हुनेछ ।
उज्वेकिस्तानस्थित जेएआर स्टेडियममा नेपाल र हङकङले नेपाली समयानुसार दिउँसो ३ः४५ बजे खेल्ने छन् ।