गाई काटेको आरोपमा मकवानपुरमा १० जना पक्राउ परेका छन् ।
जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा गाई काटेको सूचना प्रहरीले पाएपछि ११ नम्बर वडामा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हात्तीसुँडेको संयुक्त टोलीले आइतबार बेलुका गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा एउटै गाउँका १० जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बकैया–९ की ५० वर्षीया सञ्चमाया ब्लोन, ४२ वर्षीया फूलमाया थिङ, १८ वर्षीय सन्देस विक, ४० वर्षीय सोमबहादुर तामाङ, १९ वर्षीय सोमार ब्लोन, बकैया–११ का ३९ वर्षीय जनक बहादुर लोलाई पक्राउ गरेको छ ।
त्यस्तै, पक्राउ पर्नेमा ४३ वर्षीय राज कुमार घलान, ४० वर्षीय रबिन्द्र लो, ३३ वर्षीय पम्पराज लो र बकैया–४ का ४८ वर्षीय प्रल्हाद भक्त न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दासले बताए ।