अश्लिल भिडियो निर्माण गरेको आरोपमा पक्राउ परेका भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । उनलाई मुम्बई अदालतले सोमबार साँझ धरौटीमा रिहा गरेको हो ।
कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि अदालतले रिहा गरेको छ । दुबैलाई ५० हजार धरौटीमा अदालतले रिहा गरेको भारतीय मिडियाले जनाएका छन् ।
कुन्द्रा ब्रिटिश नागरिक हुन् र बलीवुडकी चर्चित नायिका शिल्पा सेट्टीका पति हुन्। उद्योगपति कुन्द्रा संसारकै सबभन्दा धनी क्रिकेट प्रतिस्पर्धा इन्डियन प्रिमियर लीगको एउटा टोलीका मालिक पनि हुन्।
चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति समेत रहेका कुन्द्रा र उनका आइटी प्रमुख थोर्पेलाई अश्लील फिल्म बनाएको आरोपमा गत जुलाई १९ मा पक्राउ गरी अनुसन्धान गरेको थियो ।
गएको फेब्रुअरी महिनामा मर्डआइल्याण्डमा प्रहरीले छापा मार्दा उनको यस्तो अवैध धन्दाको खुलासा भएको हो । यस घटनामा गहना वसिष्ठसमेत जोडिएकी छिन् । राज कुन्द्राको अफिसबाट २४ वटा हाड डिस्क जफत भएका थिए । जसमा ३५ वटा यस्ता फिल्म फेला परे । अर्को एउटा कम्प्युटरमा १६ र तेस्रो कम्प्युटरमा ६० भन्दा धेरै फिल्महरू भेटिएका थिए ।
पस्मिना सल र हिराको व्यापारः
राज कुन्द्राका पिता बालकृष्ण बेलायतका एक साधारण बस कन्डक्टरको काम गर्दथे । राज सन् १९९४ मा नेपाल आए र यहाँको पस्मिना सलले उनको भाग्य फेरिदियो ।
जब उनी नेपालबाट बेलायत फर्किए तब उनले आफूसँग कन्टेनर भरी पस्मिना सल पनि लिएर गए । उनले ती सल बेलायतका विभिन्न फेसन हाउसमा सप्लाई गरे । पहिलो वर्षमा नै उनले करिब दुई करोड पाउन्डको फाइदा कमाए ।
अब राजसँग अन्य व्यापारमा हात हाल्नका लागि पर्याप्त पैसा थियो । तर राज सल निर्यात गर्नेमा मात्रै सिमित भएनन् ।
उनले हिराको व्यापारमा हात हाले र सफल रहे । रुस, युक्रेन र संयुक्त अरब इमिरेट्सजस्ता देशमा व्यापारिक सम्भावना हेर्दै राजले उत्खनन, रियल स्टेट र अक्षय ऊर्जाको क्षेत्रमा पनि कदम राखे ।
सन् २००४ मा ‘सक्सेज’ पत्रिकाले उनलाई बेलायतको सबैभन्दा धनाढ्य एशियाली मूलका व्यक्तिको सूचीमा १९८ औं स्थानमा राखेको थियो । २९ वर्षका राज त्यतिबेला यो सूचीमा समावेश हुने सबैभन्दा युवा व्यक्ति थिए ।