रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भ्यालेन्सियालाई उसैको मैदानमा २–१ गोलले हराउँदै रियलले शीर्ष स्थान बनाएको हो ।
रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले एक–एक गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले एक गोल गरे । रियलले खेल सकिन चार मिनेट बाँकी छँदा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६६औँ मिनेटमा भ्यालेन्सियाका डुरोले गोल गर्दै घरेलु टिमलाई सुरुआती अग्रता दिलाए । ८६औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई खेलमा फर्काए ।
त्यसको दुई मिनेट नबित्दै बेन्जेमाले गोल गर्दै रियलको जित सुनिश्चित गरे । बेन्जेमा र भिनिसियसले एक–अर्कालाई पास उपलब्ध गराएका थिए । यससँगै उनीहरू ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन् । बेन्जेमा ६ गोलसहित शीर्ष स्थानमा छन् भने भिनिसियस पाँच गोलसहित दोस्रो स्थानमा छन् ।
जितसँगै शीर्ष स्थानको रियलले पाँच खेलमा १३ अङ्क जोडेको छ । भ्यालेन्सिया १० अङ्कसहित तेस्रो स्थानमा छ ।