फ्रान्सेली लिग वानमा उपाधि दाबेदार मानिएको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आफ्नो विजयी यात्रा कायमै राखेको छ । आइतबार राति भएको खेलमा पिएसजीले लियोनलाई २–१ गोलले हराउँदै विजयी यात्रा कायमै राखेको हो ।
घरेलु मैदानमा पिएसजीलाई जिताउन नेयमार र माउरो इकार्डीले एक–एक गोल गरे । लियोनका लुकास पाक्वेटाको गोल सान्त्वना बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५४औँ मिनेटमा लियोनका पाक्वेटाले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई खेलमा फर्काए ।
खेलको इन्ज्युरी समयमा इकार्डीले गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे । यस खेलमा अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले गोल गर्न सकेनन् । हालैमात्र बार्सिलोनाबाट पेरिस बसाइँ सरेका मेस्सीले पिएसजीबाट तीन खेल खेल्दा गोल गर्न सकेका छैनन् ।
जितसँगै शीर्ष स्थानको पिएसजीले ६ खेलमा १८ अङ्क जोडेको छ । लियोन भने आठ अङ्कका साथ नवौँ स्थानमा छ ।