जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरेन्द्रनगरस्थित मानसरोवर होटलबाट शनिबार राति साढे आठ बजेतिर रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक कनक शाहीका अनुसार पक्राउ पर्नेमा कालिकोटको राष्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलेखको ठाँटीकाँध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावल, दैलेखकै नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्णबबहादुर बस्नेत र २५ वर्षीय नरेन्द्र थापा छन्।
दैलेखबाट रेडपाण्डाको छाला ल्याएर होटलमा मोलमोलाई भइरहेको सूचनाका अधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीका अनुसार पक्राउ परेकाहरुले दैलेखबाट रेडपाण्डा मारेर त्यसको छाला ल्याएको बताएका छन्। ‘प्रारम्भीक बयानका क्रममा चार लाखमा रेडपाण्डाको छाला बिक्री गर्ने योजना बनाएको खुलेको छ,’ उनले भने, ‘पक्राउ परेका चारैजना बिक्री गर्नेहरु हुन्, खरिदकर्ताको खोजी भइरहेको छ।’