खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा सुपथ मूल्यको पसल सञ्चालन गरेको छ ।
चाडपर्वको अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सुपथ मूल्य पसलबाट मोटो चामल, जिरामसिनो चामल र गहुँ गरी खाद्यान्न मात्रै बिक्री हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयकी प्रमुख एन्जिला बस्नेतले केटिएम दैनिकलाई बताइन् ।
उनले चाडपर्वको अवसर पारेर सुपथ मूल्य पसलमा खाद्यान्नमा प्रति क्वीन्टल ५०० रुपैयाँ छुट गरिएको जानकारी दिइन् । यसैबीच, चाडपर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्यको पसल सञ्चालन गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले पनि शनिबारदेखि सुपथमूल्यको पसल सञ्चालन गर्ने भएको छ ।
सुदूरपश्चिमको कैलालीमा मात्रै हाललाई सुपथ मूल्यको पसल रहने साल्ट ट्रेडिङ प्रदेश कार्यालय धनगढीका प्रमुख केशवप्रसाद पाण्डेयले बताए ।उनले धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल रहने जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नुन प्रति केजी १८ रुपैयाँमा र एक व्यक्तिलाई ६ किलोमात्रै दिने जनाएको छ । यसैगरी, चिनी प्रतिकिलो ७९ रुपैयाँमा एक व्यक्तिलाई दुई किलोमात्रै बिक्री गर्ने जनाएको छ । सो कार्यालयले कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बझाङ र बाजुरामा सुपथ मूल्य पसल सञ्चालनमा आएको जनाएको छ ।