सामाजिक कथानक फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि माहौल बनाउन लागिपरेको छ ।
फिल्मका निर्देशक साकार पन्तले शुक्रवार राष्ट्रिय चलचित्र दिवस (असोज १) को अवसरमा सम्पूर्ण चलचित्रकर्मी तथा चलचित्र प्रेमीमा शुभकामना व्यक्त गर्दै आफूहरू फिल्म रिलिज गर्न आतुर रहेको बताएका हुन् ।
प्रदर्शनका लागि सम्पूर्ण तयारी सकेर प्रचार प्रसारलाई तीव्रता दिँदै गर्दा ०७६ चैत्र ११ देखि भएको लकडाउनको मारमा परेको ‘हिजो आजका कुरा’ अब छिट्टै नै दर्शकमाझ आउने तयारीमा जुटेको छ ।
‘हामी फिल्म रिलिज गर्न निकै आतुर छौ । त्यस कारण हल सञ्चालक, वितरकहरूसँग छलफल गरिरहेका छौ,’ निर्देशक पन्त भन्छन्,‘अहिले कोरोना सङ्क्रमण घट्दै गइरहेको र जनजीवन पनि सामान्य बन्दै गइरहेको छ । सरकारले हल खोल्न अनुमति दिइसकेको छ । त्यस कारण अब हामी फिल्म प्रदर्शनको तयारीमा लागेका छौ ।
चलचित्र विकास बोर्ड, हल सञ्चालक, वितरक,दर्शक, सबैको साथ भएमा चलचित्र क्षेत्र चलायमान गराउनका लागि आफूहरू अघि बढ्न तयार रहेको उनी बताउँछन् । उनले केही दिनमै फिल्मको प्रदर्शन मिति तय हुने जानकारी दिएका छन् ।
‘हिजो आजका कुरा’ ०७७ वैशाख १२ गते प्रदर्शन हुने तयारीमा थियो । सोहीअनुसार प्रचारप्रसार पनि सुरु भइसकेको थियो । तर, कोरोना भाइरसका कारण भएको देशव्यापी लकडाउनले गर्दा अझैसम्म पनि हलहरू सञ्चालनमा आउन सकेका छैनन् ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा वरिष्ठ अभिनेता सन्तोष पन्तको कथा र निर्माणमा सकार पन्त निर्देशित फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिव्यदेव पन्त,रिमा विश्वकर्मा,जयनन्द लामा,जेविका कार्की, रमेश अधिकारी, विनय कुइँकेल,अनुष्का अधिकारी,नीराजनप्रसाद अर्याल,सबिन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन् ।
रवि सायमीले खिचेको फिल्ममा सन्दीप किस्नाको पटकथा छ । फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त,सह निर्मातामा वैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्मको ‘माया जदौ’ गीत युट्युबमा अहिलेसम्म झन्डै २ करोड ४० लाख पटक हेरिसकिएको छ ।