लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल लगायत अन्य चार जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दाबारे प्रहरीले परस्पर विरोधी जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मुलुकी अपराध संहिता अनुसार घटनाको शुरूवात भएको जिल्लामा मुद्दा दर्ता गर्नुपर्ने सुझाउँदै जाहेरी दाङ पठाएको बताए पनि जिल्ला प्रहरी कार्यालय दाङले बुटवलबाट मुद्दा नै नआएको बताएको छ।
लुम्बिनी प्रदेश सांसद बिमलाकुमारी खत्री वलीले गत सोमबार पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।
रुपन्देहीका प्रहरी उपरिक्षक मनोज केसीले उजुरी हेर्दा घटनाको शुरूवात दाङबाट भएको देखिएकाले दाङ पठाइएको दाबी गरे। जिल्ला प्रहरी कार्यालय दाङले भने मुद्दा नआएको बताएको छ।