कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ ।
अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४८ ओभरमा १ सय ७४ रनमा अल आउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले १ सय ५ बलमा ३ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिए ।
त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टाेलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए । नेपालले खराब ब्याटिङ गर्दै अन्तिम ३४ रन जोड्दा ६ विकेट गुमाएको थियो ।
अमेरिका कप्तान सौरभ नेत्रवालकरले ९ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । काइल फिलिपले ९ ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ३ विकेट लिए । करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एक एक विकेट लिए ।
नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । ओमानसँग नेपाल ५ विकेटले पराजित हुन पुगेको थियो । खेलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्सले गर्दैछ ।
लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । अमेरिका १४ खेलमा १२ अङ्क जोडेर दोस्रो स्थानमा छ भने नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ ।