सरकारले देशभर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सुपथमूल्य पसल सञ्चालनमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी)सहितको सहभागितामा काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सहुलियत मूल्यको पसल असोज १ गतेदेखि कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछन् ।
शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि मात्रै कोटा तोकिएको छ । एक व्यक्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छन् भने अन्य वस्तु चाहेजति खरिद गर्न सकिने छ ।
कुन वस्तुमा कति छुट ?
चाडपर्वमा बजारमा उपभोक्ता मूल्य नियन्त्रण गर्न सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा बजार भन्दा कम्तीमा २ रुपैयाँमा सस्तोमा खाद्य वस्तु उपभोक्ताले खरिद गर्न सक्ने सरकारी दाबी छ ।
सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउनेछ ।
खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने छ ।
घटस्थापनको दिनबाट बिक्री सुरु हुने जिउँदो खसी बोकाको बिक्रीमा भने प्रतिकिलोमा १० रुपैयाँ सहुलियत पाइने सूचना अधिकारी न्यौपानेले बताइन् ।
काठमाडौं उपत्यकामा कहाँ–कहाँ छन् सहुलियत पसल
उपत्यकामा खाद्य व्यवस्था र साल्टको गरेर घुम्ती सेवासहित १३ वटा पसल सञ्चालनमा आउने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत रहनेगरी थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक भक्तपुरमा चार वटा बिक्री केन्द्र हुनेछन् ।
यस्तै साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटीमा २, कोटेश्वर, सतुंगल, जाउलाखेल र भक्तपुरमा गरेर ६ वटा सहुलियत पसल सञ्चालनमा आएका छन् ।