नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत आज अमेरिकासँग दोस्रो खेल खेल्दै छ । नेपाल र अमेरिकाबीचको खेल ओमानको राष्ट्रिय क्रिकेट एकेडमीको अल एमिरात क्रिकेट ग्राउन्डमा दिउँसो ४:१५ बजे हुनेछ ।
नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । घरेलु टोली ओमानसँग नेपाल पाँच विकेटले पराजित हुन पुग्यो । अब आज नेपालले ओमानसँगको नतिजालाई बिर्सँदै अमेरिकामाथि जित निकाल्ने लक्ष्य लिएको छ ।
नेपालको लक्ष्य अमेरिकामाथि लगातार चौथो जित निकाल्ने हुने छ । भारतीय मुलका खेलाडीको बाहुल्यता भएको अमेरिकामाथि जित निकाल्न सहज भने हुने छैन । लिग–२ मा नेपाल ६ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ भने अमेरिका दोस्रो तथा ओमान शीर्ष स्थानमा छन् । अमेरिकाले १४ खेलमा १२ अङ्क जोडेको छ भने १२ खेल खेलेको ओमानले २० अङ्क जोडेको छ ।