कोरोना भाइरसको महामारीका कारण करिब २ वर्षदेखि बन्द रहेका पोखराका डान्सबार, दोहोरी, नाचघर जस्ता रात्रीकालीन व्यवसाय शुक्रबारदेखि खुल्ने भएका छन् ।
निश्चित स्वास्थ्य मापदण्ड पालन गरेर राति १:३० बजेसम्म व्यवसाय खुल्न पाउने गरी जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बुधबार जारी गरेको आदेशमा भनिएको छ, ‘नाचघर, क्लब, डान्सबार, दोहोरीजस्ता रात्रीकालीन व्यवसायहरु तोकिएका स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी गराई राति १:३० बजेसम्म सञ्चालन गर्न सकिने ।’
प्रशासनको यो आदेशसँगै मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा रात्रीकालीन व्यवसाय खुला हुने भएको छ । बुधबार जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको थियो, सोही अनुसार प्रमुख जिल्ला अधिकारीले रात्रीकालीन व्यवसाय खुला हुने गरी आदेश जारी गरेका हुन् ।
कास्कीमा होटल तथा रेस्टुरेन्टसमेत राति साढे ११ बजेसम्म खुल्न पाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले जिल्लाभरका सम्पूर्ण निजी तथा सार्वजनिक शिक्षण संस्थाहरु स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा सञ्चालन गराउन सक्ने जनाएको छ ।