कोरोनाका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । आजदेखि सुरु भएको परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै फेरि स्थगित गरिएको थियो ।
परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । विषम परिस्थिति भएकोले संस्थापक तथा सामुदायिक बिद्यालयहरुमा होम सेन्टरको आधारमा सञ्चालन भएको परीक्षा आज (भाद्र ३०) देखि असोज ८ गते सम्म चल्नेछ । आंशिक तर्फको परीक्षा भने असोज ११ गतेदेखि संचालन हुने छ ।
साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न बोर्डले अनुरोधसमेत गरेको छ ।
यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।
तस्विरहरू