टिकटक बनाउने क्रममा सेती नदीमा खसेर आज मङ्गलवार तनहुँमा एक किशोरी बेपत्ता भएकी छन् ।
शुक्लागण्डकी नगरपालिका ८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएकी इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका ८ पुलचोकमा रहेको सेती नदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्साल नदीमा खसेर बेपत्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घुम्ने क्रममा साथीहरूसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चिप्लिएर नदीमा खसेको उनीसँगै गएका साथीहरूले बताएका छन् । नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक भएको एक भिडिओमा सुनिन्छ ।