विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा एक बिरामीको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । काठमाडौं बाहिरका नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण भएको यो पहिलो पटक हो ।
अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको जानकारी दिए । दाहालका अनुसार अस्पतालले सुनसरी धरानका ३४ वर्षीय टेकनाथ भुर्तेलको मृगौलाको सफल प्रत्यारोपण गरेको हो ।
अस्पतालका अनुसार गत शनिबार भएको शल्यक्रियाको नेतृत्व डा.शैलेन्द्र श्रेष्ठले गरेका थिए । बिरामी भुर्तेलले डेढवर्ष अघिदेखी मृगौला डाइलासिस गराउँदै आएका थिए ।
उनलाई पत्नी नन्दकुमारीको देब्रे मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका सञ्चालक सुनिल शर्माले बताए ।
प्रत्यारोपणमा सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक प्राडा प्रेम ज्ञावालीसहितको टोलीको सहकार्य थियो । प्रत्यारोपणपछि पतिपत्नी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र एकसाता भित्रमा दुवैलाई डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ ।
प्रत्यारोपण खर्च सबै गरेर ७ लाख रुपैयाँ लाग्ने सञ्चालक शर्माले बताए । उनका अनुसार अस्पतालले अब तीन सातामा अरु दुईजनाको मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ ।