अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।
उक्त सम्झौताको बारेमा बुझ्न ४ दिन नेपाल भ्रमणमा आएकी उपाध्यक्ष फातिमा सुनार नेपालबाट फर्किएको भोलिपल्ट विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको हो ।
सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।
उनीहरुले एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ, एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो, एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौ लगायतका नारा लगाएका थिए।
सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।