नेकपा (एकीकृत समाजवादी)ले मालदार मन्त्रालयमा दावी गरेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको छ ।
माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको साथ पाएर प्रधानमन्त्री बनेका देउवाले दुई महिनासम्म पनि मन्त्रिपरिषद बिस्तार गर्न नसक्नुले आलोचना भइरहेको छ ।
नेकपा (एकीकृत समाजवादी)ले शक्तिशाली मन्त्रालयमा दाबी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषदलाई पूर्णता दिन हम्मेहम्मे परेको छ ।
सरकारको नेतृत्व गरेको दुई महिना पुग्दा समेत मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो । एक राज्य मन्त्री सहित पाँच मन्त्रीलाई लिएर देउवाले सरकार चलाइरहेका छन् । सरकारमा जानुपूर्व नेता नेपालले शक्तिशाली मन्त्रालय पाउनुपर्ने, राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्नुपर्नेलगायतका शर्त अगाडि सारेका छन् ।
सर्वोच्च अदालतबाट मुद्दाको किनारा लागेपछि मात्रै सरकारमा जाने नेकपा एसका नेता मेटमणी चौधरीले बताए । दल विभाजनको अध्यादेशपछि नेकपा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी ) बनेको छ ।
पार्टीले कारवाही गरेका १४ जना सांसदलाई समेत निर्वाचन आयोगले मान्यता दिएको र सभामुखले पनि पार्टी फुटाउन गैर राजनीतिक चरित्र देखाएको भन्दै नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्चरमा रिट दर्ता गरेको छ ।