जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच मनमुटाब सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज भोलिभित्रै सरकारलाई पूर्णता दिनेगरि छलफल बढाएसँगै जसपाका नेताहरु यादव र भट्टराईबीच खटपट सुरु भएको हो ।
स्रोतका अनुसार डा. भट्टराईले यादवलाई सरकारमा नेतृत्व गरेर नजान भनेका छन् । तर, यादव भने आँफै उपप्रधानमन्त्रीसहित राम्रो मन्त्रालय लिएर सरकारमा जाने तयारीमा छन् ।
यसबारेमा उनले प्रधानमन्त्री देउवालाई पनि जानकारी गराईसकेका छन् । तर, भट्टराई भने यादवलाई सरकारमा नजानको लागि आग्रह गरिरहेका छन् ।
स्रोतका अनुसार जसपा अध्यक्ष यादवले उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय चाहेका छन्। परराष्ट्र नभए कुनै महत्वपूर्ण मन्त्रालय चाहेका छन्। जसपाले उपप्रधानमन्त्री पाए अध्यक्ष यादव पार्टीबाट नेतृत्व गर्दै सरकारमा जाने मुडमा छन्। तर उपप्रधानमन्त्री नपाए राजेन्द्र श्रेष्ठ या महेन्द्र यादवलाई पार्टीबाट नेतृत्व गर्दै सरकारमा पठाउने सोचमा उनी छन्। यादव यसअघि दुईपटक उपप्रधानमन्त्री भइसकेका छन्।
नेकपा (एकीकृत समाजवादी) र जसपाको कारण सरकारलाई पूर्णता दिने विषयमा ढिलाई भैरहेको छ । प्रधानमन्त्री देउवाले भने कुनैपनि हालतमा अब ढिलाई नगर्ने भन्दै मन्त्रिपरिषद विस्तारको लागि तत्काल नाम दिन सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भनेका छन् ।
तर, नेकपा (एमाले) ले भदौ १ गते नै निष्कासनको सूचना दिएका माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसद सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले उनीहरुसहित गनेर नयाँ दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओली अदालत गएका थिए । यो मुद्दाको फैसला नआएसम्म मन्त्रिपरिषद् विस्तार पनि नहुने बुझिएको छ ।