सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ (खोलागाउँ) । मादीबाट केही टाढा एकान्त गाउँ अनि पातला घरसङ्ख्या । ९१ वर्षीय वृद्ध बौद्धमान कार्की, जो आँखा कमै देख्छन् अनि कान पनि सुन्दैनन् । उनी आफूसहित ७ सन्तानसहित खोलागाउँमा लामो समयदेखि बस्दै आएका थिए ।
बौद्धमान आइतबार साँझ ६ बजे नै खाना खाएर सुत्न गए । उनको ओछ्यान पाली (सामान राख्न बनाइएको घर) मा थियो । उनकी पत्नी पार्वता पनि बिरामी नै थिइन् । घरमा अरू सबै थिए, शिवाय दुई नाति रमेश र नरेश । नातिहरू वैदेशिक रोजगारका क्रममा दुबई र मलेसियामा थिए । रमेश केही समयअघिदेखि मलेसियामा नै छन् । उनी शनिबार नेपालका लागि हिँड्दैछन् । नरेश भने दुबईमा थिए । घरमा नरसंहार भएपछि उनी बुधबार धरान आइपुगे ।
नरेश केही समयअघिदेखि नै दमकमा पसल सञ्चालन गरेर बस्थे । कमाइ राम्रो नभएपछि उनी दुबई हानिएका थिए । नरेशकी पत्नी र एक छोरा भने दमकमै थिए । पहाड घरमा जम्मा ७ जनाको परिवार थियो । गाउँमा सबै खेतीपातीमै ब्यस्त बन्थे । ठाउँ दुर्गम थियो, बिरामी भएमा निकै कस्ट सहनुपर्ने । यसैले त उनीहरू तराई सर्न चाहन्थे । र, तीजपछि झापामा जग्गा किन्ने योजनामा थिए ।
उमेरले शतक पुग्न मात्र नौ वर्ष बाँकी रहेका बौदमानले तराई झर्न पाए नाति–नातिनाको पढाई र पत्नी पार्वताको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेका थिए । आइतबार साँझ नै सुतेर बिहान उठिसक्दा पनि आफ्नो घरमा नरसंहार भएको थाहा पाएका थिएनन् उनले । बिहान ८ बजेतिर गाउँहरूले यत्रतत्र कार्की परिवारको शव भेट्टाए । घर जाँदा बौदमान सुतेकै अवस्थामा थिए । एक्कासि गाउँलेहरूले झकझाएपछि उठेका बौदमानले आफूबाहेक सबै जनाको हत्या भएको थाहा पाए ।
बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५३ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको अवस्थामा फेला परेका थिए । स्थानीयले सोमबार बिहान ८:३० बजेतिर शवहरू देखेपछि जनप्रतिनिधिको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । घटनास्थल दुर्गम स्थानमा छ । नजिकै अस्थायी प्रहरी चौकी भएपनि त्यहाँबाट घटनास्थल पुग्न कम्तिमा एक घण्टा पैदल हिँड्नुपर्छ ।
हत्याको कारण खुलेन, त्रासमा गाउँले
प्रहरी हत्या भएको तीन दिनसम्म पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले अहिलेसम्म घटनाका बारेमा कुनै सङ्केत मिल्न नसकेको बताए । सबैतिर नाका सिल गर्दै हत्यामा संलग्नको पहिचान र खोजीमा प्रहरी जुटेको उनको भनाइ छ । गाउँले तथा शङ्कास्पद केही व्यक्तिहरूसँग सोधपुछ जारी राखिएको जानकारी राईले दिए ।
आर्थिक कारण भनिएपनि घरभित्रै नगद र गरगहना सुरक्षित फेला परेपछि हत्या आर्थिक पाटोतर्फ नजोडिएको राईले बताए । लगभग चार लाख ७० हजारभन्दा बढी नगद र सुन एवम् चाँदीका गहना घरभित्रै भेटिएको छ । घटना भएको समय घटनास्थल आसपास सक्रिय रहेका मोबाइल नम्बर र मृतक परिवारका सदस्यले प्रयोग गर्ने मोबाइलको कल डिटेल अध्ययन गरिरहेको छ ।
घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा, सङ्घीय इकाई प्रहरी कार्यालय धरान, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतका टोली खटिएका छन् ।
हत्याको अनुसन्धानमा सिआइबी र प्रदेश प्रहरीसहितको टोली खटिएपछि शवको पोस्टमार्टम गरिएको थियो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएपछि बुधबार साँझ इटहरीस्थित बूढीगङ्गा मुक्तिघाटमा दाहसंस्कारसमेत गरियो । बौदमान कार्कीको परिवारमा गराइएको नरसङ्हारपछि तीनवटा चिता बनाएर मृतकको शवको अन्त्येष्टि गरिएको थियो ।
छ जनाको बीभत्स हत्या भएको चार दिन भइसक्दा पनि घटनाको अनुसन्धान निस्कर्षमा पुग्न नसक्दा मृतकका आफन्तले थप पीडा भएको बताएका छन् । घटना कुन समयमा भएको थियोभन्ने थाहा पाउन पोष्टमार्टम रिपोर्ट नै पर्खनुपर्ने भएको छ । पोस्टमार्टमको रिपोर्ट आइनसकेको प्रहरीले जनाएको छ ।
बीभत्स हत्या गरिएकामध्ये ८४ वर्षीया पार्वता कार्कीलाई एउटा चितामा, उनका ५२ वर्षीय छोरा तेजबहादुर कार्की र उनकी पत्नी ५२ वर्षीया कमला कार्कीलाई अर्को चितामा जलाइयो । तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की र उनका दुई छोराछोरी ११ वर्षीय दीपेन र ७ वर्षीया गोमालाई अर्को चितामा जलाइएको थियो । दाहसंस्कार स्थलमा सयौंको सङ्ख्यामा सर्वसाधारण, आफन्त र मृतकका छिमेकीहरू भेला भएका थिए । शवलाई गाडीबाट निकाल्ने क्रममा रुवावासी चल्दा घाटमा सन्नाटा छाएको थियो । सुनसरी र मोरङबाट पनि घाटमा पुगेकाहरूको भीड थियो ।
एकै परिवारका ६ जनाको शव अन्त्येष्टि गरेर बिहीबार बिहानै फर्किएका गाउँले अहिले त्रासमा छन् । ‘यो घटना अर्को परिवारमा पुनः नदोहोरिएला भन्न सकिँदैन’, मृतक तेजबहादुरका भतिजा विनोद कार्की,‘यसैले पनि प्रहरीले घटनाको अनुसन्धानमा तीव्रता दिनुपर्छ ।’
युटुबरको आतङ्क बढ्यो
यता, घटना घटेलगत्तै युटुबरले आफ्नै तरिकाले अनुसन्धान थालेका छन् । मृतकका आफन्तहरूले घटनालाई जोडेर युट्युबरले विभिन्न अफवाह फैल्याइरहेको उनीहरूको गुनासो छ । उनीहरूले अफवाह फैल्याउनेलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेका छन् । ‘युटुबरहरूले प्रहरी अनुसन्धानमा पनि बाधा पु¥याइरहेको छ’, मृतकका भजिता विनोद भन्छन्, ‘उनीहरूलाई रोक लगाउनुपर्छ ।’
घटनापछि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सङ्खुवासभाका सबै नाका सिल गरेर विभिन्न ठाउँमा सर्च गर्दै हत्याराको खोजी जारी राखिएको छ । तत्कालको अनुसन्धानबाट कार्की परिवारको कोहीकसैसँग रिसइबी नदेखिएको प्रहरीले जनाएको छ ।