सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक दाहसंस्कार गरिने भएको छ । बुधबार सुनसरीको इटहरीस्थित बूढीखोलामा ६ जनाकै सामूहिक दाहसंस्कार गर्न लागिएको मृतक तेजबहादुर कार्कीका भतिजा विनोद कार्कीले केटिएम दैनिकलाई जानकारी दिए ।
उनका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पोस्टमार्टम भएसँगै इटहरी ल्याएर दाहसंस्कार गर्ने तयारी गरिएको छ । साढे ३ बजे पत्रकार सम्मेलन गरी चार बजेतिर दाहसंस्कार गरिने उनले बताए ।
उम्लिङस्थित बौदमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । एउटै परिवारका छ जनाको हत्या भएपछि शोकमा डुबेको पूरै गाउँको अवस्था सामान्य बन्न सकिरहेको छैन ।