पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कुहिएको फर्सि भएको आरोप लगाएका छन् ।
मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपाललाई सो आरोप लगाएका हुन् ।
एमालेका पूर्ववरिष्ठ नेता माधव कुमार नेपालकै कारण ठाउँ ठाउँमा एमाले सरकार ढालेर प्रतिक्रियावादीको हातमा सत्ता सुम्पिने काम भएको उनको टिप्पणी छ ।
‘एमाले कहीँ छ भने त्यसलाई हटाउने काममा माधव नेपाल लागेका छन् । प्रदेश १ को सरकार ढाल्न माधव नेपाल लागेका छन् । बाग्मतिको सरकार ढाल्न माधव लागेका छन्,’ उनले भने, जताततै नेपालले पार्टी सिध्याउने काम गरे । उनी त अब कुहिएको फर्सीभन्दा खत्तम भइसके । एउटा कुपात्रले कुलको नास गर्छ । उनी एमालेका कुपात्र हुन् ।’
उनले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए । स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’