लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेश सभामा विश्वासको मत पाएका छन्।
मुख्यमन्त्री केसीले राखेको विश्वासको मतको प्रस्तावमा ४२ मत परेका छन्। प्रदेश सभामा ८० सदस्य रहेका छन्। सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेश सभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए।
प्रदेशसभाका ८० सांसदमध्ये सोमबार मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा ४३ जना प्रदेशसभा सदस्यमात्र उपस्थित भए । मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।
सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पर्यो । उपसभामुख कृष्णी थारु तटस्थ बसिन् ।
माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
विश्वासको मत माग्दै मुख्यमन्त्ती केसीले प्रदेश सरकारको आवधिक योजना व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने बताए । त्यस्तै समृद्ध प्रदेश खुशी जनताको नारा जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए ।
नेकपा एमालेले भने मुख्यमन्त्रीलाई समर्थन गर्ने अजय शाही र विमलाकुमारी खत्री वली आफ्नो दलको सांसद रहेको दावी गरेको छ । एमालेले उनीहरुले दलको ह्वीप नमानेको भन्दै निष्कासनको कारबाही गरी पदमुक्त गर्न प्रदेशसभामा जानकारीसमेत गराएको छ । तर सभामुख पूर्णबहादुर घर्तीले उनीहरु एमाले सांसद रहेको पुष्टि नभएको भन्दै कारबाही गर्न अस्वीकार गरेका छन् ।