मेडिकल कलेजहरुले चिकित्सा शिक्षामा स्नातक तह (एमबीबीएस)का विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ । शुक्रबार सार्वजनिक भएको महालेखा परीक्षणको ५८ औँ वार्षिक प्रतिवेदनमा यस्तो निर्देशन दिइएको हो ।
एमबीबीएस अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क असुल गरेका कलेजहरुसँग सरकारले बढी शुल्क फिर्ता गराउनुपर्ने महालेखाले औँल्याएपनि हालसम्म बढी शुल्क फिर्ता नगरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
मन्त्रिपरिषद्को २०७२ साल ३१ भदौको निर्णयअनुसार चिकित्सातर्फको स्नातक तह (एमबीबीएस) अध्ययनका लागि काठमाडौँ उपत्यकाभित्र प्रतिविद्यार्थी शुल्क ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४० लाख ४२ हजार तोकिएको छ ।
त्यस्तै, दन्त चिकित्सा (बीडीएस)तर्फ १८ लाख ३० हजार शुल्क तोकिएको छ । बढी शुल्क असुल्ने कलेजहरूलाई आवश्यक कारबाही गरी बढी शुल्क विद्यार्थीलाई नै फिर्ता गर्न निर्देशन दिएको हो ।