घाँटु काकाको छोरा १०औँ कक्षामा पास हुँदा, बुवाले उसको नतिजा सारा गाउँलाई सुनाउँथे । आमाले रूपा सुनारको छोरालाई आफ्नो छोराझैँ खाना खुवाउँथिन् । दिदी, चम्पा काकी र सुनकला भाउजू सँग हाट बजार जान्थिन् । बखते काकाको फलेको फसल देख्दा हरि दाइको ओठ मुस्कुराउँथ्यो । जब अरू कसैको घरमा गाई वा गोरु आउँदा लाग्थ्यो कि हाम्रै घरमा चाड पर्व छ । महिलाहरूले ढिक्की कुट्दै गीत गाउँदा आँगनमा कति रमाइलो हुन्थ्यो । पुरुषहरूको बैठकमा हाँसो र खुसी गुञ्जायमान हुन्थ्यो । माटोका कच्चा घरहरूमा सम्बन्ध बलियो थियो । त्यहाँको हावामा आफ्नोपन मिसिएको हुन्थ्यो ।
अब यी कुराहरू अव्यवहारिक बनिसकेका छन् । विशेष गरी म अहिले बस्ने सहर काठमाडौँमा । आमा बुवा यहाँ आएको तीन महिना पनि भएको छैन । मेरा बच्चाहरूलाई उनीहरू बिझ्न थालेका छन् । हजुरबुवा र हजुरआमाले छिमेकीहरूसँग कुरा गरेको उनीहरूलाई मन पर्दैन । छिमेकीलाई हालचाल सोधेको पनि उनीहरूलाई अनावश्यक लाग्छ । बच्चाहरूको साथीहरूका हजुरआमा र हजुरबुवा अङ्ग्रेजीमा बोल्छन् । आफ्ना गाउँले हजुरबुबा हजुरआमा उनीहरूलाई आउट डेटेड लाग्छन् । लाज नहोस भनेर उनीहरू अब आफ्ना साथीहरूलाई घरमा आमन्त्रित पनि गर्दैनन् ।
मैले अहिले सम्म आमा बुवालाई यो महसुस हुन दिएको छैन कि मेरा बच्चाहरूले उनीहरूको बारेमा के सोची रहेका छन् । मलाई आफैँलाई घुटन भई रहन्छ कि मैले उनीहरूलाई गाउँ बाट किन बोलाएँ होला । मेरा बच्चाहरू यो कुरालाई लिएर रिसाएका छन् कि बस्नेत अङ्कलका छोराले मेडिकल परीक्षा पास गरे बापत हजुरबुबा हजुरआमाले छिमेकीहरूलाई मिठाई किन बाँड्नु भयो । के उनीहरू यो देखाउन चाहन्छन् कि यो उनीहरूको लागि ठुलो कुरा हो ? कार्की अङ्कल कहाँ छोरी जन्मँदा हजुरआमा किन गीत गाउन जानुभयो ? के उनीहरू मानिसहरूलाई बताउन चाहन्छन् कि हामी कहाँ बाट आएका हौँ ? सफाइकर्मी जस्ता साना मानिसहरू सँग कुरा किन गर्नुहुन्छ ?
मैले महसुस हुन न दिए पनि सायद एक हप्ता पहिले बुवाले यो कुरा बुझिसक्नु भएको थियो त्यसैले उहाँले एक्कासि गाउँ फर्कने इच्छा व्यक्त गर्नुभयो । मैले बसको टिकट बुक गराई दिएँ । बच्चाहरूको परीक्षा छ, म उनीहरूलाई धेरै तनाव दिन सक्दिन। तर यो पनि सत्य हो कि बुवा र आमा बिना, मेरो मन लाग्ने छैन ।
बस जानमा तीन घण्टा बाकी थियो । हामी लिफ्ट बाट तल ओर्लियौँ र पार्किङ स्थल तिर लाग्दै थियौँ कि आश्चर्यजनक रूपमा हाम्रा सबै छिमेकीहरू उहाँहरूलाई भेट्न भेला भएका थिए । मेरा बच्चाहरू पनि हामी सँगै थिए । सफाइकर्ता हात जोडेर उभिएको थियो, गार्डको आँखामा आँसु थियो, बस्नेतजीलाई देखेर लाग्थ्यो जस्तो उनकै आमा-बुबा गइरहेका छन्, श्रीमती कार्की सानो छोरीलाई काखमा लिएर आएकी थिइन् ।
यो सबै देख्दा लाग्थ्यो कि आमा बुवाले हाम्रो यस सोसाइटीमा पनि गाउँको त्यही आत्मीयताले भरिपूर्ण सुगन्ध मिसाई दिनु भएछ ।
आमाले त्यो सानी बच्चीलाई काखमा लिनुभयो..
“पाँच रुपैयाँको एउटा नोट दिनुहोस् त …! नानीलाई सगुन दिनु पर्यो ।”
बुवाले आफ्नो खल्तीबाट झिकेर आमालाई पाँच रुपैयाँको नोट दिनुभयो । आमाले पल्लाबाट सय रुपैयाँ निकालेर त्यसमा राखिदिनुभयो ।
“दुवै पटक तेल मालिस गर्नु, केटी धेरै कमजोर छ”
श्रीमती कार्कीले टाउको हल्लाइन्, तर आँसु थाम्न सकिनन् ।
मेरा बच्चाहरूका साथीहरू पनि त्यहाँ थिए ।
“हजुरआमा फेरी कहिले आउनुहुन्छ, हजुरबुबा फेरी कहिले आउनुहुन्छ ?” सबैले उनीहरूलाई अँगालो हालेर सोध्दै थिए । मेरा बच्चाहरू टाढा बाट यो सबै हेरिरहेका थिए । मैले रसाएका आँखाले कारको पछाडिको ढोका खोलेँ । आमा-बुवा बस्नै लागेका थिए कि……
“हजुरबुवा, प्लीज न जानुहोस् …! हामीहरूले परीक्षा पास गर्दा यहाँ सोसाइटीमा मिठाई कसले बाँड्छ नि ?” मेरा बच्चाहरू नजिक आए र भने ।
“हो, हजुरआमा न जानुहोस् प्लीज…!” सबै बच्चाहरूले आमालाई अँगालो हालेर भने ।
आमा बुवाले मलाई हेर्नुभयो ……..।
मैले यसअघि बुवाको आँखामा आँसु कहिल्यै देखेको थिइनँ ।
“यो सबै यस नालायकको गल्ती हो, एक पटक पनि रोकेन, तुरुन्त टिकट कटाइहाल्यो” बुवाले भक्भक्याऊँदै गुनासो पोख्नुभयो ।
मैले पनि खुशी हुँदै टिकट त्यहीँ टुक्रा टुक्रा पारेँ ।
सबैको आँखामा आँसु थिए तर ओठमा हाँसो थियो ।
आज मैले यो सहरलाई मेरो गाउँ भएको देखेँ ..जहाँको हावामा आफ्नोपन मिसी सकेको थियो ।