नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काले मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे ।
लामो समय नेपाली क्रिकेटमा कप्तानी भूमिका निर्वाह गरेका पारसले नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध प्राप्त गरेको सफलताको दिनमै अन्तर्राष्ट्रिय करिअरबाट बिदा लिने निर्णय लिएका थिए ।
डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका पारसको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पाएको थियो । उनले नेपाली क्रिकेटमा गरेको योगदानको कदरस्वरूप नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको छ ।
पारसले ७७ नम्बरको जर्सी लगाउँदै आएका थिए । पारसको जन्म बिक्रम सम्वत् २०४४ कात्तिक ७ गते भएको हो । सात महिना सात गते जन्म भएकोले पनि पारसले भाग्यशाली नम्बरको रूपमा आफ्नो जर्सी नम्बर प्रयोगमा ल्याएका हुन् ।
उक्त जर्सी अब क्यानले अरू खेलाडीलाई नदिने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको बैठकले पारसको नेपाली क्रिकेटमा योगदानलाई लिएर कदरस्वरूप उक्त निर्णय गरिएको बताए ।
क्यानका सचिव प्याकुरेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका अन्य खेलाडीको बिदाइसमेत नभएकोले छलफल भएपनि बिदाइबारे पछि निर्णय हुने बताए ।