राष्ट्रिय क्रिकेट टोलीका पूर्व–कप्तान पारस खड्काको जर्सी प्रयोगमा नल्याइने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पारसको सम्मानमा उनले लगाउँदै आएका ७७ नम्बरको जर्सी प्रयोगमा नल्याउने जनाएको हो ।
क्यानले पारसले नेपाली क्रिकेटमा दिएको योगदानको कदर गर्दै उनले लगाउँदै आएको ७७ नम्बरको जर्सी अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नगर्ने जनाएको हो ।
पारसले मङ्गलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध प्राप्त गरेको सफलताको दिनमै खड्काले अन्तर्राष्ट्रिय करिअरबाट बिदा लिने निर्णय लिएका थिए ।
डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका पारसको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप पनि खेल्ने मौका पाएको थियो ।
सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका अलराउन्डर पारसले सन् २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए । उनले विनोद दासको कप्तानको आर्मब्यान्ड पहिरिएका थिए ।