४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी गाउँपालिका-२ सर्देवा डेरा गरी बस्ने सोही गाउँपालिका-२ कोकलधारा घर भएका १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कानुनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धि कसुरुको ब्याख्या गरिएको छ । दफा २१९ को उपदफा २ मा भनिएको छ कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करिणी गरेमा वा मञ्जुरी लिएर पनि अठार बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।
दफा २२४ मा यौन दुव्र्यबहार गर्न नहुने बताइएको छ । यसमा यौन दुव्र्यबहार भनेको के हो र केलाई यौन दुव्र्यबहार भनिन्छ भनेर प्रष्टसँग लेखिएको छ ।
कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्यवहार गरेको मानिनेछ ।