नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले राजनीतिमा आउनसक्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गरेका पारसले बुधबार पत्रकार सम्मेलन गरी सञ्चारकर्मीको जिज्ञासालाई एकमुष्ठ सम्बोधन गरेका थिए ।
उक्त पत्रकार भेटघाटमा उनले आफू राजनीतिमा पनि आउनसक्ने सङ्केत गरेका हुन् । तर पूर्वकप्तान खड्काले भविष्यमा राजनीतिमा आउने विचार भए पनि अहिले भने आफ्नो ध्यान नेपाली क्रिकेटलाई कसरी अगाडि बढाउने भन्ने विषयमै केन्द्रित हुने बताए ।
सही अवसर आए राजनीतिमा आउनसक्ने बताउँदै तत्काल भने क्रिकेट विकास र प्रवर्द्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताए । ‘व्यवस्थापकीय जिम्मेवारीमा आउन चुनावमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु,’ उनले भने, ‘सही अवसर पाएमा राजनीतिमा पनि आउन सक्छु । तर पहिलो प्राथमिकतामा भने क्रिकेट नै छ ।’
क्रिकेटमा ब्यवस्थापकीय जिम्मेवारीमा सङ्घका पदाधिकारी वा प्राबिधिक क्षेत्रतर्फ भने जिज्ञासामा उनले नीति निर्माण गर्ने गरी क्रिकेट विकासका लागि कार्यान्वयन गर्ने स्थानमा पुग्ने इच्छा ब्यक्त गरे ।
सन् २०११ मा राष्ट्रिय क्रिकेट टोलिको कप्तान नियुक्त हुँदादेखि नै ब्यवस्थापकीय जिम्मेवारीले क्रिकेटलाई पु¥याउन सक्ने योगदानबारे अवगत भएको अनुभव उनले सुनाए । सोही अनुभवको आधारमा आफू ब्यवस्थापकीय जिम्मेवारी आउन रोजेको उनले खुलाए ।
पारसले ब्यवस्थापकीय जिम्मेवारीमा पुग्न क्यानको अधिवेशन कुर्नुपर्ने हुन्छ । जसका लागि दुई वर्ष समय बाँकी छ । पदाधिकारीका लागि छनोट हुन राष्ट्रिय टोलीबाट अवकास लिएको कम्तिमा दुई वर्ष समय बिताएका हुनुपर्ने ब्यवस्थाकै कारण उनले सन्यास लिएको बुझिन्छ । यद्दपि, नेपालले सन् २०१८ अगष्ट तीनमा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्न आइसिसीबाट मान्यता पाएको दिनकै अवसर पारेर सन्यासको घोषणा गरेका हुन् ।