नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहान कोटेश्वरमा झण्डै ४५ मिनेट भएको छलफलमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल भएको बुझिएको छ ।
सत्तारुढ गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ । नेता नेपाल पक्ष सरकारमा सहभागी हुने नहुनेबारे निर्णय नहुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस परेको छ ।
नेपाल पक्ष सरकारमा नगए नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । यस्तै, एमालेका दोस्रो तथा तेस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच आजै भेटवार्ता गराउने तयारी गरेका छन् ।
सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।
ओलीसँग पनि भेट्ने तयारी
यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ । ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।
पार्टी भित्रको विवाद मिलाउन दोस्रो तथा तेस्रो तहका नेताहरु सक्रिय भए पनि अध्यक्ष ओली र नेता नेपालले एक अर्कालाई आरोप–प्रत्यारोप लगाउँदै आएका छन् । यसले वातावरण झन् बिग्रँदै गएको नेताहरुले बताएका छन् ।
नेपालको साथमा अहिले प्रतिनिधि सभाका २२ सांसद छन्। उता राष्ट्रिय सभामा वामदेव गौतमबाहेक ९ सांसदको साथ नेपाललाई छ। नेपाललाई साथ दिएका दोस्रो पुस्ताकासहित १० जना प्रतिनिधि सभा सदस्य भने पार्टी विभाजन भएको अवस्थामा कता खुल्ने टुंगो गरिसकेका छैनन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत लिँदा नेता नेपाल पक्षका ती १० नेता मतदानमा सहभागी भएनन्।